यसरी चिटिक्क पार्न सकिन्छ अस्पतालका शाैचालय
उपचारका लागि अस्पताल पुग्ने बिरामी र कुरुवाले उल्टै रोग बोकेर फर्किनुपर्ने गरी फोहोर र अव्यवस्थित बनेका सरकारी अस्पतालका शौचालयलाई पनि चिटिक्क पार्न सकिन्छ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा श्रीमतीको उपचार गराइरहेका काठमाडौंको थानकोटका राजु लामा अर्को पटक यो अस्पताल नआउने बताउँछन्। त्यसको कारण हो, अस्पतालको शौचालय।
चार दिनअघि सुत्केरी भएकी उनकी श्रीमती पूर्णिकालाई अस्पतालको शौचालय प्रयोग गर्न गाह्रो भएको छ। “अस्पतालका शौचालयमा बस्ने ट्वाइलेट सीट नै छैन, कोठामै शौच गराउनु परिरहेको छ,” उनी भन्छन्, “योभन्दा कति दुःख पाउनु!”
शल्यक्रिया गरेर बच्चा जन्मिएकाले उनीहरूको अस्पताल बसाइ एक साता लम्बिएको छ। तर, शौचालयकै कारण लामा दम्पती घर फर्किने उपाय खोजिरहेका छन्। शौचालयको समस्या पूर्णिकाले मात्रै होइन, राजुले पनि भोगिरहेका छन्। “पुरुषको शौचालयमा ढोका पनि छैन। अझ फोहोर कुल्चँदै शौचालय छिर्नुपर्छ,” उनी भन्छन्।
परोपकार अस्पतालको उपचारमा उनलाई कुनै गुनासो छैन। शौचालयले नै अस्पतालको बसाइ कष्टकर भएको उनी सुनाउँछन्। “उपचारमा ठीकै छ, तर बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालय राम्रो छैन। फेरि कर्मचारीका लागि त सुविधायुक्त नै छ,” उनी भन्छन्।
हुन पनि परोपकारको अस्पतालका कर्मचारीले प्रयोग गर्ने शौचालय भने सफा र व्यवस्थित छ। त्यहाँ ढोकामै ‘पुरुष/महिला कर्मचारी मात्र’ भनेर लेखिएको छ। साबुन, स्यानिटाइजर, ओडोनिल लगायत सामान ठीकसँग राखिएका छन्।
बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालय किन व्यवस्थित हुन सकेन? अस्पताल प्रशासक रानु थापा भन्छिन्, “पुराना भवनमा शौचालय बिग्रिएका छन्, तर बन्ने प्रक्रियामा छन्।”
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका शौचालयको अवस्था पनि त्योभन्दा कम छैन। बिरामीलाई शौच गराउनै मुश्किल हुन्छन्। ह्वीलचियर प्रयोगकर्ता शोभा तुलाधरलाई आफन्तले शौचालय त पुर्याउँछन्, तर शौच गर्न समस्या हुन्छ। “शौचालयमा कमोड छैन, बोक्नुपर्छ,” शोभाकी बुहारी रोशनीले भनिन्, “पानीको पनि समस्या छ। साबुन पनि हुँदैन।” शौचालय पछाडि ढल पनि व्यवस्थापन गरिएको छैन।
अझ वीर अस्पतालको शौचालय पुग्न त बिरामीलाई सकस हुन्छ। शौचालयको ढोकामै रहेका स्टोरका सामानले ह्वीलचियर गुडाउन समस्या भएको उमाकुमारी झा गुनासो गर्छिन्। ढाडको समस्याले ह्वीलचियरको सहारा लिइरहेकी उनी भन्छिन्, “एक त ढोकामै राखिएका सामानले शौचालय पस्नै मुश्किल हुन्छ, अर्को फेरि चिप्लिएर लड्ने पीर पनि छ।”
वीर अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेत क्षमताभन्दा धेरै मानिस आउने भएकाले शौचालयसँगै अस्पतालको व्यवस्थापन बिग्रिएको बताउँछन्। “पाँच लिटर अट्ने बोतलमा १५ लिटर पानी हाल्दा पोखिए जस्तै हो, शौचालय व्यवस्थापन पनि। कोशिश गर्दा पनि सम्भव भएको छैन,” बस्नेत भन्छन्, “अब पूरै संरचना बदल्नुपर्छ।”
यस क्षेत्रमा काम गरेका व्यक्तिहरू भने संरचनाभन्दा पनि व्यवस्थापनको कमीका कारण समस्या भएको बताउँछन्। सार्वजनिक संस्थाहरूको लापरवाहीले शौचालय समेत व्यवस्थित हुन नसकेको पूर्व मन्त्री गणेश साह बताउँछन्। वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका साह भन्छन्, “शौचालय व्यवस्थित नहुँदा एउटा रोग उपचार गर्न अस्पताल गएको बिरामी अर्को रोग लिएर फर्किरहेको हुन्छ।”
अहिले देशव्यापी रूपमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान चलिरहेको छ। गाउँघरमा पनि शौचालय बनाउन थालिएको छ। तर, सार्वजनिक शौचालयको अवस्था भने सुध्रिन सकेको छैन। वातावरण तथा सरसफाइ विज्ञ डा. नवराज खतिवडा शौचालय व्यवस्थित नहुनुका तीन वटा कारण बताउँछन्।
पहिलो, शौचालय प्राथमिकतामा परेन। जसले गर्दा अस्पतालको एक्स-रे मेसिन घरीघरी सफा गरिने, तर शौचालयको वास्ता नै भएन।
दोस्रो, शौचालय व्यवस्थापन र सञ्चालन खर्च। शौचालयका लागि बजेट नछुट्याएर पैसा जोगिएको ठानिने भयो। जसले गर्दा शौचालयको मर्मतसम्भार नै हुने भएन।
तेस्रो, शौचालय सरसफाइ गर्ने कर्मचारीलाई वास्ता गरिएन। उनीहरूले काम गरेका छन् कि छैनन् भन्ने निगरानी गर्ने व्यवस्थापन भएन।
शौचालय व्यवस्थापन नहुँदा बिरामी तथा कुरुवालाई थप मनोवैज्ञानिक असर पर्ने गरेको छ। अस्पताल पुगेका कतिपय बिरामी र कुरुवा समयमा शौचालय जाने समेत गरेका छैनन्। बुबाको उपचारका लागि वीर अस्पताल आएकी आइषी देवकोटा अस्पतालको शौचालय प्रयोग नगर्ने बताउँछिन्। “एक पटक यहाँको शौचालय गएकी थिएँ, एलर्जी भयो। त्यसपछि त घरै पुग्छु,” उनी सुनाउँछिन्।
डा. खतिवडा भने दिसा-पिसाब रोक्दा स्वास्थ्यमा समस्या हुने बताउँछन्। केहीबेर पिसाब रोक्दा पनि ‘युरिनल इन्फेक्सन’ हुने उनको भनाइ छ।
पूर्व मन्त्री साह प्रणालीगत गलत अभ्यासले सार्वजनिक शौचालय सुधार हुन नसकेको बताउँछन्। “शौचालयमा पनि विभेद छ। जनता र हाकिम लागि फरक फरक शौचालय हुन्छ,” पूर्व मन्त्री साह भन्छन्, “हाकिम र सेवाग्राहीको एउटै शौचालय बनाउँदा सुधार आइहाल्छ।”
अर्कातिर, महिलाका लागि शौचालय कम राख्ने परिपाटीले पनि समस्या हुने गरेको छ। प्रायः पुरुषका लागि भन्दा महिलाका लागि ५० प्रतिशत कम शौचालय छुट्याइने गरेको देखिएको छ। शौचालयको व्यवस्थापन सम्बन्धी अध्ययन गरेका डा. खतिवडा भन्छन्, “तुलनात्मक रूपमा महिलाका लागि १५ वटा शौचकक्ष छन् भने पुरुषका लागि ३० हुने गरेको पाइएको छ।”
यससँगै महिलाका लागि शौचालय बनाउँदा पनि ध्यान दिने गरिएको छैन। पुरुषका लागि दिसा र पिसाब गर्ने छुट्टाछुट्टै कक्ष र प्रविधि प्रयोग गरिन्छ भने महिलाका लागि एउटै हुन्छ। “महिला बाहिर धेरै निस्कँदैनन्, पुरुष नै बढी बाहिर निस्कन्छन् भन्ने गलत सोचले यस्तो भएको हो, अब यसलाई पनि सुधार्नुपर्छ,” उनी भन्छन्।
भान्सा जस्तै शौचालय!
शौचालयको महत्त्वबारे सजग गराउन वातावरण तथा सरसफाइ विज्ञ डा. खतिवडा भान्सासँग जोडेर एउटा हिसाब सुनाउँछन्। उनका अनुसार, सरदर आयु ७० वर्ष मान्दा एउटा व्यक्तिले दिनमा एक पटक दिसा र पाँच पटक पिसाब फेर्दा पनि जीवनकालमा सरदर २५ हजार पटक दिसा र एक लाख २५ हजार पटक पिसाब फेर्न शौचालय प्रयोग गर्छ।
त्यस्तै, बिहान र बेलुका दुई छाक खानाको हिसाब गर्दा सरदर ५० हजार पटक खाना खान्छ। यसको मतलब मानिसले भान्साको भन्दा शौचालयको प्रयोग तीन गुणाले बढी गर्छ। “भान्साभन्दा शौचालयको प्रयोग बढी हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि अस्पतालले शौचालय व्यवस्थापन गरेका छैनन्,” डा. खतिवडा भन्छन्, “शौचालय पनि भान्सा जस्तै सफासुग्घर राख्नुपर्छ।”
के शौचालयलाई भान्सा जत्तिकै सफासुग्घर राख्न सकिन्छ? यसको उत्तर हो, सकिन्छ। एरोसान सस्टेनेबल स्यानिटेशन संस्थाले नेपालमा यसको प्रयोग गरिरहेको छ। यो संस्थाले ‘एरोसान हब’ नाम दिएर शौचालय व्यवस्थापन अभियान सञ्चालन गरिरहेको छ।
शौचालयको पनि भान्साको जस्तै व्यवस्थापन गर्नुपर्नेमा जोड दिंदै आएको यो संस्थाले अहिले काठमाडौं उपत्यकाका मंगलबजार, बानेश्वर र बुद्धपार्कमा शौचालय सञ्चालन गरिरहेको छ। सबैलाई प्रयोग गर्न सहज हुने शौचालयबाट निस्केको फोहोरबाट बायो ग्यास पनि उत्पादन हुने गरेको छ।
यस्ता शौचालयको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ। शौचालयमा गन्ध पनि आउँदैन। यससँगै स्यानिटरी प्याड र फोहोर पनि बिजुलीबाट जलाउने व्यवस्था गरिएको छ।
अस्पतालमा पनि यसैगरी शौचालय व्यवस्थापन गर्न सकिने एरोसान हबका कार्यकारी अधिकृत प्रकाश अमात्य बताउँछन्। “अस्पतालले ठाउँ मात्रै दिए पनि हामी नै लगानी गरेर व्यवस्थित शौचालय बनाउन सक्छौं,” अमात्य भन्छन्।
उनले यसका लागि सरकारी अस्पतालमा प्रस्ताव पनि राखेका थिए। तर, उपत्यकाका अस्पतालहरू सहमत नभएको उनी बताउँछन्।