नेपाल बाङ्लादेश ब्यांकले १२ प्रतिशत बोनस शेयर दिने
नेपाल बाङ्लादेश ब्यांकले २७औं वार्षिक साधारण सभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ।
स्वास्थ्य मापदण्डको पालना गर्दै साधारण सभा भर्चुअल रूपमा सम्पन्न गरिएको ब्यांकले जनाएको छ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार, आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २०७८ असारसम्म कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर दिने निर्णय भएको छ। त्यस्तै, साधारण सभाले ३.५० का दरले नगद लाभांश वितरण गर्ने स्वीकृति प्रदान गरेको छ।
शेयरधनीको उपस्थितिमा सम्पन्न निर्वाचनबाट आगामी ४ वर्षे कार्यकालका लागि ब्यांकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक गरी ६ जना सञ्चालकको निर्वाचन पनि गरिएको छ।
उक्त निर्वाचनमा संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन्।
सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएको ब्यांकले जानकारी गराएको छ।
नेपाल बाङ्लादेश ब्यांकका देशभर १०० शाखा, १० एक्सटेन्सन काउन्टर र ८४ एटीएम छन्।