आफूले अध्ययन गरेको उच्च शैक्षिक उपाधिलाई औपचारिक जानकारीका लागि अङ्कित गर्ने चलन बेठीक होइन। तर, यस्तो उपाधिको प्रयोग उचित स्थान, प्रयोजन र अवसरमा गरिनुपर्छ।
संसारमा दुईखाले डाक्टर भेटिन्छन्- पहिलो, कुनै विषयमा विद्यावारिधि गरेको। अर्थात् ‘डाक्टर अफ फिलोसोफी’ उपाधि प्राप्त व्यक्ति, जसले अनुसन्धान र खोजका लागि प्रसिद्धि कमाएको छ। दोस्रो चाहिं, चिकित्सक वा फिजिसियन अथवा मेडिकल डाक्टर।
विश्वभरि नै डाक्टर भन्ने बित्तिकै धेरैजसोले सम्झने चाहिं चिकित्सक नै हो, चाहे उसले मेडिकल साइन्समा विद्यावारिधि गरेको होस्/नहोस्। खासमा विद्यावारिधि नगरेको चिकित्सकलाई ‘मेडिकल प्राक्टिसनर’ भन्नु सही हो।
शैक्षिक उपाधिको पूर्वीय परम्परा
प्राचीन कालमा निश्चित तहको पढाइ सकिएपछि दीक्षान्त घोषणा गरेर विद्यार्थीलाई गुरुकुलबाट बिदा गरिन्थ्यो, शैक्षिक उपाधिले विभूषित गर्ने चलन थिएन। इसापूर्व छैटौं शताब्दीमा अस्तित्वमा रहेको तक्षशिला विश्वविद्यालयमा चाणक्य, चन्द्रगुप्त, पाणिनि, चरक आदि विद्वान्हरूले पढेको र ग्रीसका गणितज्ञ पाइथागोरसले समेत त्यहाँ अध्ययन भ्रमण गरेको तथ्य पाइन्छ। तर, उनीहरूलाई दीक्षान्तपछि कुनै औपचारिक उपाधि दिइएको पाइँदैन।
पूर्वीय परम्परामा पढाइको उच्च उपाधि भनेका शास्त्री र आचार्य हुन्। पछि पश्चिमी शैक्षिक परम्पराको समकक्षताका रूपमा तिनैलाई क्रमशः स्नातक र स्नातकोत्तर भन्न थालियो। दक्षिणएशियाका धेरै विश्वविद्यालयले प्रमाणपत्रहरूमा कला (आर्टस्)मा स्नातक गरेकालाई ‘कलाशास्त्री’ र स्नातकोत्तर गरेकालाई ‘कलाचार्य’ उपाधि दिएको पाइन्छ।
वि.सं. १९४१ सालमा भारतको कलकत्ता विश्वविद्यालयबाट ‘म्याट्रिकुलेसन’ उत्तीर्ण गरेका चन्द्रशमशेरलाई नेपालको पहिलो म्याट्रिक पास प्रधानमन्त्री भन्ने गरिएको छ। त्यस वेला म्याट्रिक उत्तीर्ण गरेकाहरूले नामको पछाडि ‘म्याट्रिक पास’ लेख्ने चलन थियो, अचेल पीएचडी लेखे जस्तै।
नेपालमा कुनै वेला विद्यालय तह पार गर्ने प्रमाणपत्र (स्कूल लिभिङ सर्टिफिकेट) भनेर एसएलसीलाई ठूलै शैक्षिक स्तर मानिन्थ्यो। वि.सं. १९४१ सालमा भारतको कलकत्ता विश्वविद्यालयबाट ‘म्याट्रिकुलेसन’ उत्तीर्ण गरेका चन्द्रशमशेरलाई नेपालको पहिलो म्याट्रिक पास प्रधानमन्त्री भन्ने गरिएको छ। त्यस वेला म्याट्रिक उत्तीर्ण गरेकाहरूले नामको पछाडि ‘म्याट्रिक पास’ लेख्ने चलन थियो, अचेल पीएचडी लेखे जस्तै।
पछि आईए, बीए वा एमए अध्ययन गरेकाहरूले आफूले प्राप्त गरेको शैक्षिक उपाधि नामको पछाडि लेखाउने परम्परा चलाए। एकभन्दा बढी विषयमा शैक्षिक तह पार गरेकाहरूले नामका पछाडि ती सबै उपाधि लेख्ने थिति बस्यो। जस्तै- महाकवि लक्ष्मीप्रसाद देवकोटाले उनका कतिपय हस्तलिखित फुटकर कवितामा नामका पछि बीए, बीएल लेखेको पाइन्छ। फेल हुनेहरूले पनि गौरवका साथ ‘फलानो तह पास, फलानो तह फेल’ भनेर उल्लेख गरेका विज्ञापन गोरखापत्रमा प्रकाशित हुन्थे।
पश्चिमा दृष्टिकोण र अभ्यास
भारत वर्षमा मात्रै होइन, ग्रीसका दार्शनिक प्लेटोले इसापूर्व ३८७ मा स्थापना गरेको प्लेटोनिक एकेडेमी, इसापूर्व ३३५ मा दार्शनिक अरस्तुले स्थापना गरेको पेरिप्याटेटिक स्कूल वा सन् ४२५ मा टर्कीको इस्तानबुलमा स्थापित युनिभर्सिटी अफ कन्स्ट्यान्टिनोपल आदिमा पनि औपचारिक उपाधि दिने चलन थिएन।
मध्यकालीन यूरोपमा स्थापित अक्सफोर्ड (सन् १०९६), क्याम्ब्रिज (सन् १२०९), पेरिस (सन् ११५०), ग्लास्गो (सन् १४५१), डब्लिन (सन् १५९२) लगायत विश्वविद्यालयले औपचारिक अध्ययन पूरा गरेपछि विद्यार्थीलाई विभिन्न उपाधि दिन थालेका हुन्। त्यस वेला धेरैजसो विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनलाई नै अन्तिम मान्ने चलन थियो।
तर, युनिभर्सिटी अफ बोलोङ्ना (इटाली) र युनिभर्सिटी अफ पेरिस (फ्रान्स) जस्ता यूरोपका कतिपय विश्वविद्यालयमा एमए तहपछि पनि धर्मदर्शन (थियोलोजी), कानून र चिकित्साशास्त्रको उच्च अध्ययन गर्न पाइन्थ्यो। उक्त अध्ययन समाप्त भएपछि बाह्रौं शताब्दीमा पहिलो पटक विद्यार्थीलाई ‘डाक्टर अफ फिलोसोफी’ को उपाधि दिन थालियो। ल्याटिन भाषाको ‘डकेरे’ बाट व्युत्पन्न डाक्टर शब्दको अर्थ हुन्छ- ‘पढाउनु’। अर्थात्, ‘डाक्टर अफ फिलोसोफी’ को उपाधि पाउनु भनेको सम्बन्धित विषयमा पढाउन योग्य हुनु हो।
ल्याटिन भाषाको ‘डकेरे’ बाट व्युत्पन्न डाक्टर शब्दको अर्थ हुन्छ- ‘पढाउनु’। अर्थात्, ‘डाक्टर अफ फिलोसोफी’ को उपाधि पाउनु भनेको सम्बन्धित विषयमा पढाउन योग्य हुनु हो।
उन्नाइसौं शताब्दीमा कला, सामाजिक शास्त्र, अर्थशास्त्र लगायत विषयमा समेत विश्वविद्यालयहरूले विद्यावारिधि उपाधि दिन थालेपछि जर्मनीका धर्मदर्शन, कानून र चिकित्साशास्त्रका विद्वान्हरूले विरोध जनाए। तर, अस्ट्रिया र पर्सियाका धेरै विश्वविद्यालयले डाक्टर अफ फिलोसोफीलाई उच्चतम शैक्षिक उपाधिका रूपमा स्वीकार गरे, यद्यपि त्यस्तो उपाधिप्राप्त व्यक्तिले अनुसन्धानमूलक काममा निरन्तर लागिरहनुपर्ने जिम्मेवारी तोकियो।
अमेरिकामा सन् १८६१ देखि येल युनिभर्सिटीले यस्तो उपाधि दिन शुरू गर्यो। बेलायतमा युनिभर्सिटी अफ लन्डनले सन् १८५७ मा पहिलो पटक ‘डाक्टर अफ साइन्स’ भन्ने उपाधि दियो। बेलायतकै क्याम्ब्रिज युनिभर्सिटीले सन् १८८२ देखि र अक्सफोर्ड युनिभर्सिटीले सन् १९१७ देखि यस्ता उपाधि दिन थाले। भारतमा सन् १९०४ मा अलाहबाद विश्वविद्यालयले ‘डाक्टर अफ फिलोसोफी’ को उपाधि प्रदान गरेको थियो भने नेपालमा वासुदेव त्रिपाठीले २०३० सालमा नेपाली साहित्यमा पहिलो विद्यावारिधि गरेका थिए।
नाममा शैक्षिक योग्यता जोड्न जरुरी छ?
विद्यावारिधि गरेका व्यक्तिले नामअघि ‘डा.’ वा नामपछि पीएचडी लेख्ने चलन छ। के यो जरुरी छ? प्राज्ञिक र व्यावसायिक क्षेत्रमा निकै पटक सोधिएको यस प्रश्नमा केन्द्रित भएर विभिन्न विद्वान्ले आआफ्नै मान्यता प्रस्तुत गरेका छन्। म्युनिख युनिभर्सिटीमा सन् २००४ मा विद्यावारिधि गरेका युक्रेनका कन्स्ट्यान्टिन स्पसोकुकोस्कीका विचारमा उपयुक्त ठाउँमा आफ्नो योग्यता दर्शाउनु स्वाभाविक हो, तर आफैंले आफैंलाई ‘डाक्टर फलानो’ भन्ने काम उचित होइन।
क्यालिफोर्निया स्टेट युनिभर्सिटीका सहायक प्राध्यापक जोसुवा ग्रोस पनि नामका अघि डाक्टर उपाधि लेख्दा होस पुर्याउनुपर्ने ठान्छन्। ‘उदीयमान अध्येताहरूका लागि डाक्टर उपाधिको प्रयोग उचित हुन सक्छ। किनकि, यसैबाट सरोकारवालाले उनीहरूको क्षमता अनुमान लगाउन सक्छन्। तर, इमेल, फेसबूकमै वा अनौपचारिक छलफलमा समेत डाक्टरको प्रयोग आफूलाई प्राप्त उपाधिको दुरुपयोग हो,’ उनी भन्छन्।
युनिभर्सिटी अफ डेन्भरका प्राध्यापक डेब्बी गेल मिसेलका विचारमा चाहिं डाक्टर उपाधि पुरुषभन्दा महिलाका लागि बढी सान्दर्भिक छ। किनभने, सुश्री वा श्रीमती भन्नुभन्दा ‘डाक्टर’ भन्नु लैङ्गिक वा वैवाहिक हिसाबले तटस्थ रहन्छ।
युनिभर्सिटी अफ डेन्भरका प्राध्यापक डेब्बी गेल मिसेलका विचारमा चाहिं डाक्टर उपाधि पुरुषभन्दा महिलाका लागि बढी सान्दर्भिक छ। किनभने, सुश्री वा श्रीमती भन्नुभन्दा ‘डाक्टर’ भन्नु लैङ्गिक वा वैवाहिक हिसाबले तटस्थ रहन्छ। उनी भन्छिन्, ‘मलाई डा. मिसेल वा डेब्बी जे भने पनि फरक पर्ने होइन। तर, एक दिन एउटा विद्यार्थीले मैले पीएचडी गरेको छु कि छैन भनेर सोध्यो। तब मैले थाहा पाएँ मेरो पहिचानका लागि पनि नामको अघि डा. किन महत्त्वपूर्ण छ।’
युनिभर्सिटी अफ डेलावरमा अङ्ग्रेजीमा पिएचडी गरेकी पाउला जोन ह्वाइटको विचार पनि मिसेलकै जस्तो छ। भन्छिन्, ‘मानिसहरू डा. ह्वाइट भन्नासाथ अलि सावधानीपूर्वक कुरा गर्छन्। मेरो कुरामा ध्यान दिन्छन्। तर, व्यक्तिगत वा अन्य सानातिना काममा आफूलाई ‘डा. फलानो’ भन्दै हिंड्नु पनि जग हँसाउनु हो।’
प्रयोगमा सावधानी
आफूले अध्ययन गरेको उच्च शैक्षिक उपाधिलाई औपचारिक जानकारीका लागि अङ्कित गर्ने चलन बेठीक हुँदै होइन। तर, यस्तो उपाधिको प्रयोग उचित स्थान, प्रयोजन र अवसरमा गरिनुपर्छ।
आफ्नो शैक्षिक योग्यताको अनावश्यक प्रचारप्रसार गरी सरोकारवाला व्यक्ति वा संस्थाबाट लाभका पदहरू हत्याउन खोज्ने सिलसिलाले इमानदार शिक्षा-साधकहरूलाई अप्ठ्यारो पारिदिन्छ। किनकि, मानिसलाई प्रभाव पार्ने त आफ्नो कामले हो। उपाधि जस्तो भए पनि त्यस अनुसारको काम देखाउन सकिएन भने त्यसले अर्थ राख्दैन।
नेपालमा यदाकदा मानार्थ विद्यावारिधिलाई समेत शैक्षिक योग्यता भन्ने/भनाउने चलन छ। कसैले सद्भावपूर्वक दिएको यस्तो उपलब्धि व्यक्तिको शैक्षिक अध्ययनको उपज नभएकाले नामका पछाडि जोडिरहनु सुहाउँदो कुरा होइन। तर, व्यक्तिको समग्र परिचय खुलाउँदा चाहिं त्यस्तो उपाधि उल्लेख गर्नु स्वाभाविक हुन्छ। त्यसले उसको गरिमा बढाइदिन्छ।
(डिजिटल कम्युनिकेशनमा विद्यावारिधि गरेका आचार्य युनिभर्सिटी अफ अटवा र सेन्ट पउल युनिभर्सिटी क्यानडामा अनुसन्धान र प्राध्यापनमा संलग्न छन्।)