सर्वोच्च अदालतमा प्रहरी र वकीलबीच घम्साघम्सी
सर्वोच्च अदालत परिसरमा प्रहरी र कानून व्यवसायीबीच घम्साघम्सी भएको छ।
प्रहरीसँगको धकेलाधकेलमा सामान्य झडप भएको छ। झपडमा केही कानून व्यवसायी घाइते भएको नेपाल बार एसोसिएशनले जनाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन कानून व्यवसायीले गेटमा प्रदर्शन गरेका थिए। उनीहरूले मूल गेटमा प्रदर्शन गरेपछि प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गर्दै आएका थिए।
आज भने कानून व्यवसायीले वैकल्पिक गेटमा पनि प्रदर्शन गरेपछि प्रहरीले रोक्न खोजेको थियो। त्यही क्रममा धकेलाधकेल हुँदै सामान्य झडप भएको हो। प्रहरीसँगको झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कानून व्यवसायी युवराज भण्डारी, गोपाल सापकोटा, कपिल पोखरेल लगायत घाइते भएको बारले जनाएको छ।
कानून व्यवसायीले आज पनि सर्वोच्च परिसरमा प्रदर्शन जारी राखेका छन्। उनीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका छन्।