सिभिल ब्यांकको अध्यक्षमा प्रतापजंग पाण्डे चयन
सिभिल ब्यांक लिमिटेडको अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन्।
१ मंसीरमा बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
अध्यक्ष चयन भएपश्चात् पाण्डले आफ्नो नेतृत्वमा ब्यांकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए। “ब्यांकको व्यवस्थापन तथा समग्र कर्मचारीले उच्च मनोबलका साथ काम गर्न जरुरी छ,” उनले भने, “ब्यांकलाई थप सबल र समृद्ध बनाउन शेयर लगानीकर्ता, ग्राहक लगायत सबैको भावना अनुरूप अगाडि बढ्नुपर्छ।”
पाण्डे सिभिल ब्यांकमा गाभिएको आईएलएफसी फाइनान्सबाट आएका हुन्। ब्यांकमा उनको ४ प्रतिशत शेयर स्वामित्व छ।
आर्थिक अनियमितताको आरोपमा अध्यक्ष इच्छाराम तामाङ पक्राउ परेपछि सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गरेको हो।