वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको शव समेत आउँदैन
वैदेशिक रोजगारीकै क्रममा कोरोना सङक्रमणबाट मृत्यु भएकाहरूको लाशको साटो पीडित परिवारले अस्तु मात्र प्राप्त गर्छन्।
साहुसँग ऋण लिएको तमसुक बनाएर वैदेशिक रोजगारीमा जाने जमाना समाप्त भइसकेको छ। आजकालका साहुहरू घर, घडेरीको नामसारी गरेर मात्र ऋण दिन थालेका छन्। तराई–मधेशका ग्रामीण क्षेत्रबाट मालपोत कार्यालय पुगेर ऋणको सट्टामा जग्गा नामसारी गर्नेको घुइँचो लाग्ने गर्छ।
कोरोना महामारीले गर्दा रोजगारी गुमाएर फर्किएका कामदार पुनः ऋण लिएर वैदेशिक रोजगारीमा जान थालेका छन्। वैदेशिक रोजगारीकै क्रममा कोरोना सङक्रमणबाट मृत्यु भएकाहरूको लाशको साटो पीडित परिवारले अस्तु मात्र प्राप्त गर्छन्।
हिन्दू संस्कारमा लाश प्राप्त नभएको खण्डमा कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने प्रावधान छ। यही परम्परा निर्वाह गर्दै महोत्तरीको एकडारा गाउँपालिका ४ चकवाका ३९ वर्षीय मनो पासवानको दाहसंस्कार भयो। दुई छोरा र एक छोरीकी पिता उनले मलेसियामा साढे तीन वर्ष श्रम गरेका थिए। सोही क्रममा उनले कोरोना सङक्रमणबाट ज्यान नै गुमाउनुपर्यो।
पासवानको मृत्युपछि उनकी पत्नी सुमिन्त्रा महोत्तरी गाउँपालिका ४ रतवारास्थित माइतीको शरणमा छिन्। पासवानले वैदेशिक रोजगारीमा जाँदा दुई वर्षका लागि म्यादी जीवन बीमा गराएका थिए। तर, मलेसियामा उनी डेढ वर्ष बढी बसे। त्यो अवधिमा बीमा अवधि बढाउन वा नयाँ म्यादी जीवन बीमा गराउने आवश्यता उनले महसूस गरेनन्। सायद बीमाको फाइदाको बारेमा उनलाई जानकारी थिएन।
महोत्तरीकै समसी गाउँपालिका–४ गैढाभेटपुरका ३९ वर्षीय रामदेव महतोको परिवार पनि शोकबाट बाहिर निस्कन सकेको छैन। मलेसियामा गत सेप्टेम्बरमा कोरोना सङक्रमणबाट उनको मृत्यु भयो। उनको परिवारले पनि कुशकै शव बनाएर संस्कार गर्यो। महतोको समेत म्यादी जीवन बीमा नवीकरण नभएका कारण परिवारले बीमाको पैसा पाउन सकेको छैन।
वैदेशिक रोजगारीमा जाने वेला बाध्यात्मक रहेको म्यादी जीवन बीमाको म्याद सकिंदा सम्बन्धित देशका दूतावास, बीमा कम्पनी अथवा म्यानपावरका प्रतिनिधिले जानकारी नदिंदा कामदार र उनका परिवार मर्कामा परेका छन्।
पासवान र महतो जस्तै वैदेशिक रोजगारीकै क्रममा कोरोना सङक्रमणबाट मृत्यु हुनेहरूको शव नभएर सम्बन्धित देश र कम्पनीले अस्तु मात्र पठाउँछन्।
वैदेशिक रोजगार बोर्डका अनुसार, आर्थिक वर्ष २०७७/०७८ मा एक हजार २४२ जनाको ज्यान गएको छ। तर, यसमध्ये कोरोना सङक्रमणबाट मृत्यु हुनेको सङ्ख्या यकिन हुन सकेको छैन।
गैरआवासीय नेपाली संघको विवरण अनुसार चाहिं, गत वैशाखसम्म कोरोना सङक्रमणबाट २१ देशमा श्रम गरिरहेका ३७२ जना नेपालीको मृत्यु भएको छ।
प्रदेश–२ बाट वैदेशिक रोजगारमा जानेमा सबैभन्दा बढी धनुषा, सिरहा, महोत्तरी, सर्लाही, सप्तरी, रौतहट जिल्लाका व्यक्ति छन्। यसमा दलित र सीमान्तकृत समुदायका व्यक्ति बढी वैदेशिक रोजगारीमा गएको अनुमान गर्न सकिन्छ।