युद्धको राप
युद्धमा जाने वेला आत्माबाट डर मर्छ, दुश्मनको तस्वीर दिमागमा घुम्न थाल्छ र शरीरभरि आक्रोश भरिन थाल्छ। तर, कुत आक्रमणको वेला मलाई एकदम डर लागेको थियो।
८ फेब्रुअरी १९१९। चिसो दिन। धरमशाला क्यान्टोनमेन्ट। मेरा थकित पाइला त्यही परेड मैदानमा प्रवेश गरे, जहाँबाट म ११ अगस्ट १९१४ मा युद्धभूमितिर प्रस्थान गरेको थिएँ। बमबारीबाट बचेर सकुशल फर्कन सफल भएकोमा आफैंलाई बधाई दिएँ, ‘धन्य छस् मित्रसेन! यो धर्तीमा अझै बाँकी रहेछ तेरो दिन।’
सँगै गएका प्राय: मित्रहरू धर्तीमा विलीन भइसकेका थिए। युद्ध यस्तो चिज रहेछ, जसले कमलो मनलाई कठोर बनाइदिंदो रहेछ। साथीहरूको शोकमा मेरो आँखा पटक्कै रसिलो थिएन; न त आफू जीवित रहन सकेकोमा आत्मा रसाएको थियो। शायद म आधा मरेको थिएँ।
अग्लो झारले ढाकिएको थियो मैदान। परेड खेल्ने सबै सिपाही जर्मनलाई रोक्न यूरोपतिर लागेपछि मैदानमा झार नउम्रिने कुरै भएन। यसो हेर्दा प्रकृतिले हाम्रो स्वागतार्थ हरियो कार्पेट बिछ्याएको जस्तो देखिन्थ्यो।
मुख्य द्वारमा ‘स्वागतम्’ लेखिएको रातो तुल टाँगिएको थियो। द्वारनिर १/१ गोर्खा रेजिमेन्टल ब्यान्डको मधुर धुनले हामीलाई स्वागत गरियो।
मैदानको मध्य भागतिर मार्च गर्दै जाँदा झारले शीतका थोपा मेरा धुलाम्मे बुटभरि छ्यापिदियो। गोर्खा ह्याट खोल्दै अनिद्राले चिम्सिएका आँखा उठाएर क्षितिजतिर चियाएँ। हिउँको खास्टो ओढेर धौलाधर हिमाल यतिका चार वर्षसम्म मलाई नै पर्खिबसेको रहेछ। ओठबाट अनायास मुस्कान फुस्कियो।
चौरभरि हाम्रै परिवारजनको बाक्लो हुल थियो। नौलो फौजी बर्दीमा सजिएका केही सिपाहीहरू पनि थिए। तिनीहरू श्री ३ चन्द्रशमशेरले हाम्रो ब्यारेक रेखदेखका लागि नेपालबाट खटाई पठाएका पुराना गोरख गणका सैनिक रहेछन्। कसैको हातमा फूलका गुच्छा त कसैकोमा माला थिए।
मेरो प्लाटुनको लाइनमा रुकस्याक र बन्दूक राखेर भीडतिर आँखा डुलाएँ। अलि पर कुनामा चार जना अर्थात् मेरो परिवारजनमा नजर अडिए- आमा, कलावती, लुरी (छोरी) र काकु (छोरा)। ती कसैको हातमा पनि पुष्पगुच्छा वा माला थिएन। मन खिन्न भयो। अरू सबैका हातमा फूलको झुप्पा देख्दा मेरो परिवारले मलाई पनि फूलमालाले स्वागत गर्ला भन्ने लागेको थियो। कि म मरिसकें भन्ठानेछन् क्यारे!
हो, म मर्न पनि सक्थें। 'फेस्तुबर्त अपरेशन' मा १/१ गोर्खा राइफलसँग एक सिग्नलरका रूपमा खटिएको थिएँ त्यो वेला। ९ मे १९१५ मा हामीलाई अग्रमोर्चामा लड्न पठाइयो। दायाँ फ्लेङ्कमा १/४ गोर्खा, बीचमा हामी १/१ गोर्खा, देब्रे फ्लेङ्कमा फर्स्ट हाइलेन्ड इनफेन्ट्री। पछाडि सपोर्टमा फोर्थ किङ्स र रिजर्भको भूमिकामा १५औं सिख।
राति १ बजे जर्मन डिफेन्समा धावा बोल्ने 'एच-आवर' आक्रमणपछि माथिबाट पछि हट्ने आदेश आयो। तर, ए र बी कम्पनी हामीबाट टुक्रिएर अलि अगाडि बढिसकेछन् कि क्या हो, पछाडि आएनन्। त्यसपछि म र एक जना मेरै सिग्नलर नम्बरीलाई 'तुरुन्तै पछाडि हट्नू’ भन्ने सूचना लैजान अगाडि खटाइयो।
हामी साइकलमा गयौं र सूचना दिएर फर्कियौं। बाटोमा दुश्मनले बमबारी गर्यो। म बेहोश भएछु। फिल्ड मेडिकल पोस्टमा पो कति दिनपछि होश खुल्यो। त्यहाँ उपचार हुन नसकेर इङ्ल्यान्डको ब्राइटनमा लगिएको थियो। आखिर बाँच्ने दिन बाँकी नै रहेछ, बाँचेर फर्किएँ।
परिवारले मेरोबारे दु:खद खबर नसुन्न पनि के बेर! कोशौं टाढा घाइते भएको सूचना घरसम्म पुग्दा अर्कै भएको पनि त हुन सक्थ्यो। मनमा अनेकौं तर्कना खेलाउँदै म उनीहरू नजिक पुगें।
आमालाई ढोगें। मेरो हात समाएर बेस्सरी रुन थाल्नुभयो।
सम्झाएँ, ‘मोई ! किन रोएको? सपना होइन त, ईः विपनै हो।’ उनको हातमा चिमोटें। आमा रुँदै नै हाँस्नुभयो।
छोराछोरीलाई अँगालो हालें, ती बिरानो मानेर अररो परे। कलावतीसँग गला मिलाएँ। मेरो छातीमा टाँसिएर रुँदै बोलिन्, ‘धन्य भगवान्! मेरो श्रीमान्लाई जस्ताको तस्तै फर्काइदियौ।’
उनले निमेषभरमै मेरो कम्मरमुनि सबै भागमा चिमोटिन्। कमिलाले टोके जसरी तर्सिंदै भनें, ‘ऐया.. के गरेकी यस्तो?’
म युद्धमा अपाङ्ग भएर कतै नक्कली गोडा जडेर पो आएँ कि भन्ने शङ्का रहेछ उनलाई। हुन पनि हृष्टपुष्ट ज्यान युद्धले खाएर अस्थिपञ्जर मात्रै फर्किएका थियौं सबै।
समयको दूरीले मान्छेलाई मात्र होइन; मान्छेका स्वभावलाई पनि कति फरक बनाइदिंदो रहेछ। कहाँ कहाँ पुर्याइदिंदो रहेछ। तीन वर्षे छोरी र डेढ वर्षे छोरालाई छाडेर हिंडेको चार वर्षपछि उनीहरूलाई बुबा हुँ भनेर विश्वास दिलाउनै मुश्किल परिरहेको थियो। श्रीमतीले त मेरो शरीरमाथि नै शङ्का गरिन्।
कालको मुखबाट फुत्केर आउँदा पनि मेरा लागि फूलमाला नल्याएकोमा चित्त दुखिरहेकै थियो। भरे निदाउनुअघि कलावतीसँग बेस्मारी गुनासो नगरी छाड्दिनँ भनेर मन बाँधिरहें।
बुबालाई भने त्यो भीडमा देखिनँ। ‘खै त बोइ ?’ भनेर आमालाई सोध्न पनि भ्याइनँ। अड्कल काटें, क्यान्टिनमा बस्ने मान्छे भएन होला। भरे घरमा भेट भइहाल्छ त भनेर चित्त बुझाएँ।
घाम डाँडामाथि जाँदै थियो। हामी भेटिनेहरूले खुशी साट्न मिल्ने अवस्था पनि कहाँ हुनु र त्यहाँ ? वातावरण क्रन्दनयुक्त थियो। धेरैले पल्टनका कमान्डेन्टसँग आफ्ना श्रीमान्, छोरा, दाइ, भाइ वा बुबा माग्दै चिच्याइरहे। तर, फर्केर आउनुपर्नेहरू आफ्नालाई छोडेर कहिल्यै नफर्किने बाटो लागिसकेका थिए। हातभरिका फूलका गुच्छा र माला आफ्नाको शिर अनि गलामा सिउरिन र पहिरिन नपाई माटोमा खसे। ती फूलमाला लाउनुपर्नेहरू पनि त माटोमै मिलिसकेका थिए।
कतिले सोध्दै थिए, "बम्बैबाट अर्को रेलमा अरू आउन बाँकी छन् होइन त? हाम्रो दाइ त्यसमा आउँदै होलान्।"
"छैनन्, आउन बाँकी अरू कोही छैनन्।" मेरो आँखाबाट बगेको आँसुले भनिरहेको थियो।
फर्केर आएको त्यो समूह नै हाम्रो पल्टनको पहिलो र अन्तिम समूह थियो। युद्धमा जाँदा पो हामी एक पूर्ण पल्टन थियौं, भीरमाहुरीको चाका जस्तो। फर्कंदा त काँचको प्लेट फुटे जसरी टुक्राटुक्रा थियौं। गएकामध्ये धेरै जना मासिए, हामी एक तिहाइ मात्रै कोही अपाङ्ग त केही सद्दे अवस्थामा घर फर्कन सफल भएका थियौं।
पल्टनका कमान्डेन्ट र सुबेदार मेजरले ती दु:खी परिवारजनलाई सम्झाउन भरमग्दुर प्रयास गरिरहेका थिए। तर, विश्वास गर्नेवाला कोही थिएनन्।
स्वागत कार्यक्रम सकियो। मैले परिवारलाई भरे घरमा भेट्ने वाचा सहित तोतारानी लाइनतिर पठाइदिएँ। हामी सरसामान बुझाउन ब्यारेकतिर लाग्यौं। चरनबाट फर्काएका बाख्राहरूलाई साँझ खोरमा हुले जस्तै बन्दूकलाई कोतमा राखियो। अन्य सामान क्वाटरमास्टरको स्टोरमा फिर्ता गरियो।
स्टोरबाट फर्कंदै गर्दा मनमा बोलें, ‘आभारी छु प्रिय बन्दूक, चार वर्षसम्म तिम्रो सुरक्षित साथका लागि। अब बिदा देऊ सदाका लागि। अब तिम्रो स्थान मेरी कलावतीले लिंदै छिन्। आशा छ, अब कलावतीले नै मेरो जीवनका बाँकी फ्ल्यान्डर फिल्ड र मेसोपोटामियाहरूको यात्रामा साथ दिनेछिन्।’
रातको ११ बज्यो। घरतिर उक्लिएँ। चार वर्षको त्रासजन्य जीवन बिताएर जन्मभूमि पुग्दा आमाको काखमा निस्फिक्री खेल्न पाए जस्तै आनन्द आयो। निद्रामा हाँसेको बालक जस्तो एक्लै मुस्कुराउँदै मधुरो जुनेली रातमा पाइला चालिरहें।
कलावती भोजनका लागि पर्खिबसेकी रहिछन्। खाना खाएर हात चुठें। १९१५ डिसेम्बरमा माल्टामा किनिदिएको इटालियन मजेत्रो आमालाई दिएँ।
एक वर्ष युद्धपश्चात् यूरोपबाट हामी फर्कंदै थियौं। त्यतिवेला सीधै घर आउन पाएको भए आमाले त्यो मजेत्रो लगाएर पनि फाटिसक्थ्यो। तर, भारत फर्कनुको सट्टा मेसोपोटामिया युद्ध मोर्चातिर हामीलाई मोडियो।
ओटोमन अम्पायरले खाडी क्षेत्रमा आफ्नो उपनिवेश बिस्तार गर्दै थियो। त्यसै क्रममा टर्किश फौजले हाम्रो ११ हजार ८०० जवानलाई टिग्रिस नदी किनारमा रहेको कुत भन्ने ठाउँमा घेराबन्दी गरेको रहेछ। तिनीहरूलाई उद्धार गर्न १९१७ मा हाम्रो पल्टन खटाइयो।
मलाई १/१ गोर्खाको एउटा सेक्सनको कमान्डरको जिम्मेवारी दिइयो। टिग्रिस नदी पार गरेर कुतमाथि हमला गरी हाम्रा साथीहरूलाई फुत्काएर टर्किश फौजलाई धपाउँदै बग्दाद कटायौं।
युद्ध लड्नुमा जति दुःख छ, जित्दाको उत्साह र आनन्द शायद अरू कुरामा भेटिन्न। दुर्भाग्य, त्यो चरम अनुभूति महसूस गर्न नपाई म सिकिस्त बिरामी परें। र, इलाज गराउन बासरा क्याम्प फर्किएँ।
मजेत्रोको गन्धमा आमाले नाक खुम्च्याउनुभयो। तीन वर्षसम्म मेरो किट-ब्यागभित्र गुम्सेर बसेको त्यो मजेत्रो, मरुभूमिको आर्द्रतामा सिन्की जस्तो खाँदिएर पनि रङ भने फेरिएको थिएन। आखिर 'मेड इन इटालियन' न थियो।
छोराछोरीलाई बम्बैमा किनिदिएको खेलौना उनीहरूका सिरानीमा राखिदिएँ, जो खेलौनाका आशसँगै निदाइसकेका थिए। लुरीलाई पेन्सिल, कापीहरू र भाँडाकुटीको सेट। जसबाट पढाइ बाहेक खेल्दाखेल्दै पकाउन पनि सिक्नेछे र ठूली भएर आफ्नो जहानलाई मीठो पकाएर खुवाउन सक्छे भन्ने आशामा। काकुका लागि एउटा स्लेट, चकहरू र केही थान रमाइला चित्रहरू। मेरो इच्छा थियो, उसले बुबा, हजुरबाको लाहुरे जीवनभन्दा अर्को कलात्मक बाटो रोजोस्।
बुबालाई कतै देखिनँ। सोध्छु भन्दाभन्दै भुलिहाल्थें। हामी पुरुष आफैं बुबा भइसक्दा पनि आमाको मात्र यादमा रुमल्लिई बस्छौं, त्यसमाथि श्रीमतीको माया डब्लिएपछि लटपटिइहाल्दा रहेछौं। फेरि पनि नसोधेर मनमनै सोचें, ‘अबेर भइसक्यो, बिस्तरामा गइसक्नुभो होला, झुल्के घामसँगै बुबाको दर्शन गर्नेछु।’
बुबाका लागि बासरामा काँसको एक कलात्मक हुक्का किनेको थिएँ।
कलावतीले भान्साको धन्दा गरुन्जेल उनैलाई कुर्दै बसें। जाबो चारै वर्ष त हो, यति छोटो समयमै कलावती कति साह्रै ओइलाइसकिछन्। मैले सँगाल्नै नपाई उनको उर्लंदो जोबन बगिगएकोमा आफूलाई धिक्कारें। फूल जस्ती श्रीमतीलाई बाहुपाशमा लिने समयमा बमगोला अँगालेर बिताएका वर्षहरूलाई सरापें।
उनी धन्दा सकेर बिछ्यौनामा आइन्। उनका लागि मार्शेमा किनिदिएको सेतो रङको गोला दानाहरू जडित मुगाको माला थियो। गलामा पहिर्याइदिएँ। लाल्टिनको मधुरो प्रकाशमा पनि धपक्क देखिइन्। मलाई हेरेर मुस्कुराइन्।
उनको कोमल शरीरलाई अँगालोमा च्यापें।
फ्लान्डर फिल्डको हिलाम्य गन्धले मेरो नाकको चेतना मरेको रहेनछ। उनको ओठको बास्ना चाल पाइहाल्यो। मेशिन गनका कडा ट्रिगर बटार्ने मेरो हत्केलाले उनको सुकोमल कपाल स्पर्श गर्न भुलेको रहेनछ।
सामुद्रिक पानीको बाफले अर्धमृत मेरा ओठहरू उनका ओठ चुम्न पुग्दा मात चढ्नुको सट्टा दुःखका बलिन्द्र धारा बगे। मानौं, एक निर्दोष नागरिकले विना कसूर चार वर्ष जेल सजाय भोगेर भर्खर रिहाइ भएको हो।
उनी मोतीको माला मुसार्दै मौन बसिन्। मैले पनि मनमनै भनें, ‘लाहुर गएको भए पो सन्दुकभरि ल्याइदिन्थें जुहारत। म त परें युद्धबाट फर्केको योद्धा।’
हामीबीच निकै बेर मौनता छायो।
बमको धुवाँले लतपतिएका मेरा अनुहार मुसारिन्। मनमनै भनिन् होला- ‘धन्न एउटा आँखा नभएको अनुहार लिएर आउनुभएन। धन्न ब्यानेटले घोचिएको छाती लिएर आउनुभएन। धन्न ग्रिनेडले उडाइदिएपछि बचेको एउटा मात्रै हात लिएर आउनुभएन। धन्न माइनले पड्काइदिएको एउटा मात्रै खुट्टा लिएर आउनुभएन। जे लिएर फर्किनुभएको छ स्वामी, त्यो नै मेरो लागि काफी छ।’
उनको स्पर्श मेरो अनुहारदेखि कम्मरतिर सर्यो।
उनलाई बाहुपाशमा मात्र कसेर मेरो धीत मरेन। फेरिरहेको सास पनि एकछिन कतै सारेर छातीभित्र उनैलाई राखूँ झैं लाग्यो। बाहुपाश झनै कसिलो बन्दै गयो।
लामो समयसम्म सहयोद्धासँग उठबस गरेको मेरो शरीरले त्यस बखत विपरीत लिङ्गीसँगको सहवासमा पटक–पटक शंका गरिरहेको थियो। मन र मस्तिष्कलाई विश्वास दिलाउन गाह्रो परिरहेको थियो। ओछ्यानलाई पनि ‘रणमैदान पो हो कि ?’ तकियालाई पनि ‘बन्दुक पो हो कि ?’ श्रीमतीलाई पनि ‘बमबारुदको भारी पो हो कि?’ भनी तर्सिंदै पटक पटक आँखा खोलेको थिएँ।
घरदेशको पहिलो बिहानीले उठायो। उठ्नासाथै फ्रान्स र मेसोपोटामियामा झैं नाङ्गो सराक देख्नुपरेन, खरले छाएको आफ्नै घरको ओतिलो छानो देखियो।
आमा पनि बाहिर निस्कनुभयो, एक्लै।
‘खै त बोइ ? अझै बिस्तारामै हो कि क्या हो ?’ भन्दै ओछ्यानतिर चिहाएँ। देखिनँ। ‘गुसलखाना जानुभयो क्यारे’ सोचें।
‘बोइका लागि हुक्का ल्याइदिएको थिएँ’ भनेर हुक्का ल्याएर आमालाई दिएँ।
आमा त एक्कासि मलाई अँगालो हालेर हिकहिकाउँदै रुन लाग्नुभयो। म असमञ्जसमा परें। आमा कतै सपनामै त हुनुहुन्न जस्तो लाग्यो। झकझकाउँदै सोधें, ‘मोई ! के भो? सन्चो छैन कि क्या हो?’
"तेरो बोइ हुनुहुन्न। हामीलाई छाडेर परलोक जानुभो।"
आमाले जे बोल्नुभयो, पत्याउनै कठिन भयो। ग्रिनेड टाउकामा खसे जस्तो दुख्यो। रिंगटा लाग्यो। छोरासँग भर लाग्न अङ्कमाल गरेकी आमालाई सहारा दिन सकिनँ। हामी भुइँमा थुप्रियौं।
म मेसोपोटामियाको कुत आक्रमण तयारीमा जुटिरहेको वेला घरमा बुबाको निधन भएको रहेछ। युद्धमा जाने वेला आत्माबाट डर मर्छ, दुश्मनको तस्वीर दिमागमा घुम्न थाल्छ र शरीरभरि आक्रोश भरिन थाल्छ। तर, कुत आक्रमणको वेला मलाई एकदम डर लागेको थियो। दुश्मनको वितण्डा जति नै सोच्दा पनि मनमा आक्रोश पलाउन सकेको थिएन। आफूलाई ज्यादै निरीह लागेको शायद त्यो पहिलो पल्ट थियो। त्यही वेला मलाई बुबाले छोड्नुभएको रहेछ।
त्यसपछि दिवङ्गत बुबाको ठाडो किरिया बसें तीन दिन। लाग्यो, बमको छर्राले उडाउन नसकेको थाप्लो बुबाको शोक थाप्न बचेको रहेछ।
आमा झिनो शरीर लिएर यताउता गरिरहनुहुन्थ्यो। थाहा छैन, एउटी आमालाई छोरा गुमाउँदा बढी पीडा हुन्छ कि लोग्ने? तर, आमाको सुक्दै गएको जिउ र चिन्ताले झनै गलेको अनुहार देख्दा मलाई लाग्यो, बरु बुवा बाँचेर म मरेको भए अलि बेस हुने थियो।
हो, विश्वयुद्धभरि मैले जोगाएर राखेको आँसु घर फर्केको दिन बगाउनुपर्यो।
यस युद्धले मेरा बुबा जस्तै हजारौं अन्य बुबाहरूलाई खाएको छ। युद्धले मेरी आमालाई जस्तै हजारौं अन्य आमालाई रुवाएको छ। युद्धले हजारौं श्रीमतीको सिन्दूर उजाडेको छ। युद्धले हजारौं सन्तानलाई टुहुरो बनाएको छ।
हो, यो पहिलो विश्वयुद्ध मानव सभ्यताकै निष्पट्ट अँध्यारो समय भएर बितेको छ।