एकीकृत समाजवादीलाई सरकारमा ल्याउन वनमन्त्री राय बर्खास्त
प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ।
मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले रायलाई पदमुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता होमप्रसाद घिमिरले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले रायलाई पदमुक्त गरेको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम मौजुदा प्रदेश मन्त्रिपरिषद्का उद्योग, पर्यटन तथा वनमन्त्री माननीय राम नरेश रायज्यू पदमुक्त हुनुभएकाले उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार माननीय मुख्यमन्त्री श्री लालबाबु राउतज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ।”
नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले रायलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। रायले पदबाट राजीनामा नदिएपछि बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।
जसपा नेता राय केन्द्रीय कार्यकारणी समितिका सदस्य पनि हुन्। पार्टीले निर्णय गरेपछि मात्रै राजीनामा दिने उनको भनाइ थियो।
एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि छलफल गर्न मुख्यमन्त्री राउत काठमाडौंमा छन्। उनले काठमाडौंबाटै रायलाई पदमुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गरेका हुन्।
अब एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराइने भएको छ। एकीकृत समाजवादीले दुई मन्त्री र एक राज्यमन्त्री माग गरेको छ।