मुख्यमन्त्री राईले विश्वासको मत लिँदै
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्।
मुख्यमन्त्री राईले दुई दिनअघि प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी सूचना दर्ता गरेका थिए। उनले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने भएका छन्।
यसअघि सभामुख प्रदीपकुमार भण्डारीले २३ कात्तिकमा प्रदेश सभाको बैठक बोलाएका थिए। तर, मुख्यमन्त्री राईको आग्रहमा आज दिउँसो १२ः३० बजेका लागि सारेका थिए।
आज विश्वासको मत लिन लागेको नेकपा (एकीकृत समाजवादी)की सांसद सावित्राकुमारी रेग्मीले बताइन्। “विश्वासको मत नपुग्नेमा कुनै शङ्का छैन, हामी सत्तापक्षका सबै प्रदेश सभा सदस्य बैठकमा उपस्थित हुँदै छौं,” रेग्मीले हिमालखबरसँग भनिन्।
नेकपा (एमाले) विभाजन हुँदा १० सांसदले एकीकृत समाजवादी रोजेका थिए। त्यसपछि अल्पमतमा परेका भीम आचार्यले राजीनामा दिएपछि १६ कात्तिकमा राई मुख्यमन्त्री बनेका हुन्। उनलाई पाँच दलीय गठबन्धनले समर्थन गरेको छ।
९२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४६ सांसद आवश्यक पर्छन्। अहिले प्रदेश सभामा नेकपा (एमाले)का ४१, नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टी (जसपा)का तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। गठबन्धनमा रहेका पाँच दलका ५० सांसद छन्।