बन्दले देशभरको जनजीवन प्रभावित
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ।
बिहानैदेखि यातायात, बजार, व्यवसाय बन्द रहेका छन्। लामो दूरी तथा मध्यम दूरीका यातायातका साधन चलेका छैनन्। छोटो दूरीका यातायातका साधन पनि फाट्टफुट्ट मात्रै चलेका छन्।
बागमती प्रदेशको राजधानी हेटौंडा पनि ठप्प रहेको छ। नेकपाका कार्यकर्ता बिहानैदेखि हेटौंडाका चोकचोकमा झण्डा सहित उपस्थित भएका छन्।
मकवानपुर भएर पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्ति राजपथमा सवारी साधन चलेका छैनन्। यो क्षेत्रमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
संघीय राजधानी काठमाडौंमा पनि बन्दको प्रभाव परेको छ। काठमाडौंबाट चल्ने लामो तथा मध्यम दूरीका सवारी साधन चलेका छैनन्। छोटो दूरीका सवारी साधन पनि फाट्टफुट्ट मात्रै चलेका छन्।