प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी
प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीलाई हटाएर नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा ल्याउने तयारी गरिएको छ।
अहिले मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी छन्। अब एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन लागिएको हो।
यसका लागि जसपाका केही मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय वा सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई फिर्ता बोलाउन लागिएको छ।
जसपा विभाजन भएपछि मुख्यमन्त्री राउतले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएका थिए। अब एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले मन्त्री रायलाई राजीनामा गर्न निर्देशन दिएका छन्।
अहिले प्रदेश सरकार १२ सदस्यीय छ। जसमा दुई मन्त्रालय मुख्यमन्त्री राउतले आफूसँगै राखेका छन्। मन्त्री रायले राजीनामा दिएपछि त्यो मन्त्रालय र मुख्यमन्त्रीसँगै रहेका कानून, न्याय तथा प्रदेश सभा र वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयमध्ये एउटा मन्त्रालय एकीकृत समाजवादीलाई दिने तयारी छ। उद्योग मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीको संसदीय दलका नेता शत्रुधन महतोलाई दिइने भएको छ।
यस विषयमा एकीकृत समाजवादीका नेताहरूसँग छलफल गर्न मुख्यमन्त्री राउत काठमाडौं गएका छन्। केन्द्रीय समितिको बैठकमा सहभागी हुन एकीकृत समाजवादीका नेता पनि काठमाडौंमै छन्।
एकीकृत समाजवादीको संसदीय दलका नेता महतोले केन्द्रीय समितिको बैठकमा व्यस्त रहेकाले छलफल हुन नसकेको बताए। यसअघि भएको छलफलमा अर्थ र समाजिक विकासमध्ये एउटा मन्त्रालय मागेको बताए। “आज-भोलिसम्म केही निर्णय हुन्छ, बुधबारसम्म सरकारमा जान्छौं,” महतोले हिमालखबरसँग भने।
कांग्रेसलाई सरकारमा सहभागी गराउन पनि मुख्यमन्त्री राउतले केही मन्त्रीलाई हटाएका थिए। त्यतिवेला भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, उद्योग र वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डललाई हटाएका थिए। त्यसपछि भौतिक पूर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई टुक्र्याएर कांग्रेसलाई सरकारमा सहभागी गराइएको थियो।
त्यसअघि माओवादीलाई सरकारमा सहभागी गराउन तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहालाई राजीनामा दिन लगाएका थिए।
जसपाभित्रै विवाद
मुख्यमन्त्री राउतले जसपाका केही मन्त्रीलाई हटाउने तयारी गरेपछि विवाद शुरू भएको छ। मन्त्री रायले राजीनामा नदिने बताएका छन्। “मुख्यमन्त्री काठमाडौं जानुअघि मलाई बोलाएर एकीकृत समाजवादीलाई सरकारमा सहभागिताका लागि बाटो सहज बनाउन राजीनामा पनि दिनुपर्ने अवस्था आउन सक्छ भन्नुभएको थियो,” मन्त्री रायले भने, “पार्टीमा छलफल गरेर निर्णय लिंदा राजीनामा दिन्छु।”
आफूलाई मुख्यमन्त्री राउतले नभई पार्टीले मन्त्री बनाएको उनको भनाइ छ। “राजपाबाट म मन्त्री बनेको हुँ। पार्टी एकीकरण भएपछि जसपामा सामिल भए र विभाजन हुँदा जसपालाई रोजें। अब मन्त्रीबाट हटाउने हो भने यसका लागि पार्टीमै बृहत छलफल हुनुपर्छ। यसरी हटाउन कहाँ पाइन्छ र?” रायले भने। तत्कालीन राजपाका नेता महेन्द्रराय यादवको कोटाबाट उनी मन्त्री बनेका थिए।