औसतमा १० प्रतिशत ब्याजदर परिवर्तन गर्न पाइने
नेपाल राष्ट्र ब्यांकले ब्याजदर नियन्त्रणका लागि ब्यांक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन दिएको छ।
आइतबार जारी निर्देशन अनुसार, राष्ट्र ब्यांकको इजाजत पाएका संस्थाले अघिल्लो महीनाको आधारमा औसतमा १० प्रतिशतले मात्रै ब्याजदर परिवर्तन गर्न सक्नेछन्।
यसअघि ब्यांक तथा वित्तीय संस्थालाई अघिल्लो महीना तोकेको अधिकतम ब्याजदरबाट १० प्रतिशतसम्म बढाउन पाउने सुविधा थियो।
अब भने न्यूनतम र अधिकतम ब्याजदरको औसतमा मात्रै बढीमा १० प्रतिशत परिवर्तन गर्न पाइनेछ।
त्यसैगरी, राष्ट्र ब्यांकले कल निक्षेप तथा संस्थागत मुद्दती बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म बढी ब्याज दिन सक्ने व्यवस्था हटाएको छ।
आगामी महीना लागू हुने ब्याजदर सम्बन्धी सूचना महीना शुरू हुनुअघि नै प्रकाशित गर्न पनि राष्ट्र ब्यांकले निर्देशन दिएको छ।