कोरोनाबाट ६ जनाको मृत्यु, ३०६ सङ्क्रमित थपिए
कोरोनाभाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ जनाको मृत्यु भएको छ।
केही दिनयता सङ्क्रमित थपिने क्रम कम भए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन। पछिल्लो २४ घण्टामा उपचारका क्रममा ६ जनाले ज्यान गुमाएका हुन्। योसँग कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नौ हजार ६०६ जनाको स्वाब परीक्षण गर्दा ३०६ जनामा कोरोना देखिएको हो। जसमध्ये आठ हजार आठ जनाको पीसीआर परीक्षण गर्दा २९१ र एक हजार ५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै, कोरोना सङ्क्रमणबाट ३४८ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या सात लाख ९८ हजार २७४ पुगेको छ। अझै पनि सात हजार २१५ जना सक्रिय सङ्क्रमित छन्।
आज देशभर १५ हजार ९०६ जनालाई खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनेको संख्या ८८ लाख २८ हजार ४२८ पुगेको छ। अहिलेसम्म ७५ लाख ५३ हजार ५६० जनाले पूर्ण खोप पाइसकेका छन्।