टी-२० विश्वकप : उपाधिका लागि भिड्दै अस्ट्रेलिया र न्यूजिल्यान्ड, को कति बलियो?
आईसीसी टी-२० विश्वकपको उपाधिका लागि आज साँझ अस्ट्रेलिया र न्यूजिल्यान्ड भिड्न लागेका छन्।
नेपाली समयअनुसार, साँझ ७ः४७ बजे यूएईको दुबईमा टी-२० विश्वकपको फाइनल खेल हुनेछ। यसमा अस्ट्रेलिया र न्यूजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन्।
सेमिफाइनलमा पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया र इग्ल्यान्डलाई पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेका हुन्। दुवै टोलीले पाकिस्तान र इग्ल्यान्डलाई एक ओभर बाँकी छँदै पाँच विकेटले पराजित गरेका थिए।
पहिलो सेमिफाइनलमा इग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्यूजिल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। त्यस्तै, अस्ट्रेलियाले दोस्रो सेमिफाइनलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य १९ ओभरमै पाँच गुमाएर पूरा गरेको थियो।
त्यसअघि सुपर-१२ का खेलमा पनि दुवै टोलीले एक-एक खेलमा हार ब्यहोरेका थिए। अस्ट्रेलियाले इग्ल्यान्डसँग आठ विकेटले र न्यूजिल्यान्डले पाकिस्तानसँग पाँच विकेटले हारेको थियो।
पछिल्ला पाँच खेलमा अस्ट्रेलियाले चारमा जित र एकमा हार ब्यहोरेको छ। न्यूजिल्यान्डले भने पछिल्ला पाँचै खेल जितेको छ।
यी टोलीबीचका खेलमा भने अस्ट्रेलिया सधै हाबी रहेको छ। अहिलेसम्म दुई देशबीच भएका नक आउट चरणका सबै खेलमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई हराएको छ।
दुवै देशबीच अहिलेसम्म क्वाटरफाइनल, सेमिफाइनल र फाइनल गरेर १७ खेल भएका छन्। जसमा अस्ट्रेलियाले १६ खेल जितेको छ। न्यूजिल्यान्डले सन् १९८१ मा भएको ‘बेस्ट अफ फाइभ फाइनल’का पाँच मध्ये एउटा खेल जितेको थियो।
यो प्रतियोगितामा दुवै देशका कप्तान पनि खासै चलेका छैनन्। अस्ट्रेलियाका कप्तान एरोन फिन्चले ११९ र न्यूजिल्यान्डका कप्तान क्यान विलियमसनले १३१ रन बनाएका छन्।
अस्ट्रेलियाका कप्तान फिन्चले न्यूजिल्यान्डको बलियो टिम रहेको प्रतिक्रिया दिएका छन्। त्यस्तै, न्यूजिल्यान्डका कप्तान विलियमसनले पनि अस्ट्रेलियाको टिम कमजोर नरहेको जनाएका छन्।