प्रस्तावित तीन राजदूत विरुद्ध एउटा मात्रै उजुरी
सरकारले बेलायत, अमेरिका र भारतका लागि सिफारिश गरेका तीन जना राजदूत विरुद्ध एउटा मात्रै उजुरी परेको छ।
११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, भारतका लागि डा. शंकरप्रसाद शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा सिफारिश गरेको थियो। उनीहरूका विषयमा सुनुवाइ गर्न संघीय संसद्को संसदीय सुनुवाइ समितिलाई पत्राचार गरेको थियो।
संसदीय सुनुवाइ समितिले १० दिन समय दिएर तीनै जना विरुद्ध उजुरी आह्वान गरेको थियो। यसमा एउटा मात्रै उजुरी परेको संसदीय सुनुवाइ समितिका कार्यालय सचिव ध्रुवप्रसाद घिमिरेले बताए।
प्रस्तावित तीनै जना राजदूत विरुद्ध उजुरी दिन २६ कात्तिकसम्मको समय दिइएको थियो। तोकिएको अवधिमा सैद्धान्तिक विषयलाई लिएर मात्रै उजुरी परेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।
“समावेशी हुनुपर्छ भनेर सैद्धान्तिक मात्रै उजुरी परेको छ,” सभापति कर्णले हिमालखबरसँग भने, “यो विषयमा यसअघि नै हामीले निर्देशन दिइसकेका छौं।”
अब उजुरीमाथि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ। समितिले अनुमोदन गरेपछि राजदूत नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाइनेछ।