सर्वोच्च अदालतका दुवै गेटमा कानून व्यवसायीको धर्ना
कानून व्यवसायीले सर्वोच्च अदालतका दुवै गेटमा धर्ना दिएका छन्।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीले बिहान १० बजेदेखि दुवै गेटमा धर्ना दिएका हुन्। नेपाल बार एसोसिएशनको अगुवाइनमा कानून व्यवसायीले प्रदर्शन गर्दै आएका छन्।
प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन दुवै गेटमा धर्ना दिएको बार एसोसिएशनकी उपाध्यक्ष रक्षा बस्यालले बताइन्। बिहान १० देखि १२ बजेसम्म धर्ना जारी रहने उपाध्यक्ष बस्यालले जानकारी दिइन्।
कानून व्यवसायीले दुवै गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा महान्यायाधिवक्ता कार्यालय नजिकैको अर्को गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। यसअघि उनले आज निवासबाटै इजलास तोकेका थिए।
कानून व्यवसायीको विरोध जारी छ। प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बार एसोसिएशनले जनाएको छ।