प्रधानन्यायाधीशले आफू बाहेकका न्यायाधीशलाई तोके इजलास
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज पनि आफू बाहेकका न्यायाधीशलाई सबै प्रकारका मुद्दाको सुनुवाइ गर्न इजलास तोकेका छन्।
सर्वोच्चले जारी गरेको दैनिक पेसी सूचीमा १० वटा इजलासमा २७२ मुद्दाको पेसी तोकिएको छ। जसमा बन्दीप्रत्यक्षीकरण र अन्य मुद्दा छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूले भने बन्दीप्रत्यक्षकरण बाहेकका मुद्दा हेर्ने गरेका छैनन्।
न्यायाधीश र कानून व्यवसायीले आफ्ना लागि इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई आग्रह गर्दै आएका छन्। यसअघि शुक्रबार पनि जबराले आफ्ना लागि इजलास तोकेका थिएनन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै न्यायाधीश पनि विरोधमा उत्रिएका छन् भने नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीले प्रदर्शन गर्दै आएका छन्। आज पनि उनीहरूले सर्वोच्च अदालतको मूल गेटमा प्रदर्शन जारी राख्ने जनाएका छन्।