सर्वोच्चको समस्या समाधान गर्न दलहरूलाई त्रिविका चार पूर्व उपकुलपतिको आग्रह
सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिले सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्।
पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जङ्ग शाहले शनिबार संयुक्त विज्ञप्ति जारी गरी सरकार र दलहरूको ध्यानाकर्षण गराएका छन्। उनीहरूले भनेका छन्, “लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको नेपाल बार एसोसिएशनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासीनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको छ।”
न्यायालयप्रतिको जनताको विश्वासमा कमी आउन नदिन पनि तत्काल निकास निकाल्नुपर्ने उनीहरूको भनाइ छ। “न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ? यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ,” चार पूर्व उपकुलपतिले भनेका छन्।
सरकार र राजनीतिक दलका नेताहरू जिम्मेवार बन्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। पूर्व उपकुलपतिहरूले भनेका छन्, “आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालून्, हाम्रो आग्रह छ।”