तेस्रो प्रश्न
अतीतदेखि भविष्यसम्म
अन्धकार देख्छु सधैं
क्षमता अथाह भए पनि
अवसर रित्तो सधैं ।
कसैलाई मन दिन्छु,
मेरै मुटु टुक्र्याउँछन्
सक्ने जति पौरख चुहाउँछु,
मेरै रगत चुस्छन् ।
देखेका सबैलाई सम्मान दिन्छु,
बेइज्जत पाउँछु किन?
सबैलाई आफ्नै स्थान,
तर मलाई ‘अन्य’ किन?
मलाई अस्वीकार किन?
निरन्तर तिरस्कार किन?
भावीले सिँगारेको,
तर सबैले कुल्चिएको फूल म!