पदचापहरू
त्यान्द्राहरूको बुख्याचामा
केही थान जिजीविषा ठड्याएर
हुलका हुल ‘कारवाँ’
गइरहन्छ अर्को मुलुक
नियतिलाई मात्र थाहा छ
कति परसम्म हिंड्नु छ उसलाई
तर, पुग्नै छ कुनै गन्तव्यमा
नाबालक र जहानका उध्रेका लुगा सिउन
धागोको जोहो गर्न
परदेशमा ऊ
खोल्छ पुरुषार्थका सामलहरू
एकपछि अर्को गर्दै
प्लेटफर्म, होटल, स्याउका बगानहरूमा
बत्तीहरूको साम्राज्यमा
जब रात बिस्तारै उज्यालिन्छ
मुन्टो लुकाउन पनि उसलाई
आफ्नै रातको रचना गर्नुपर्छ
अखबारका टुक्राहरूको तापमा
अनिंदो रातसँगै बिहानै पुग्नु छ उसलाई
चाँदनी चोकको भीडमा
या, बोक्नु छ भारी, प्लेटफर्मको ठेलमठेलमा
केही थान सपना
घरसम्म पुर्याउन
गोजीमा थन्क्याउँछ
तर, कहिले बाटैमा लुटिन्छ
त कहिले तुइनमा काटिन्छ
त्यही हो अर्को देश
जहाँ जान प्रत्येक पटक ऊ
आफ्नो भूमिमा
पदचाप छाड्दै हिंड्छ
यस्तो पदचाप जुन क्षणमै धूलोमा बिलाउँछ।