सर्वोच्च अदालतको विवादले जनताको न्याय पाउने अधिकार कुण्ठितः मन्त्री बडू
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सर्वोच्च अदालतमा देखिएको विवादले सेवाग्राहीको न्याय पाउने अधिकार कुण्ठित भएको बताएका छन्।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलद्वारा शुक्रबार आयोजित कांग्रेस नेताहरूको बैठकपछि मन्त्री बडूले भने, “विवाद नटुङ्ग्याउँदा जनताको न्याय पाउने अधिकार कुण्ठित हुँदै छ।”
न्यायालयभित्रको विवादलाई सरकारले टुलुटुलु हेरेर नबसेको उनको भनाइ छ। “सेवाग्राहीले न्याय नपाउँदाको परिस्थितिमा उनीहरूको सरोकार सरकारको पनि सरोकार हुन्छ,” बडूले भने।
यद्यपि, स्वतन्त्र न्यायपालिकाभित्रको समस्यामा सरकार प्रवेश गर्न नमिल्ने बडूले बताए। “न्यायपालिकाभित्रको विवादमा पसेर हस्तक्षेप गर्न बिल्कुल मिल्दैन, संविधानले तोकेको सीमालाई सम्मान गर्छौं,” मन्त्री बडूले भने, “स्वतन्त्र न्यायपालिका भित्रकै समस्या हो, यसलाई न्यायपालिकाभित्रकै सम्बद्ध पक्षले समाधान गर्नुपर्छ।”
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ। शुक्रबार पनि बारले सर्वोच्च परिसरमा विराेध प्रदर्शन गर्यो।
तपाईंहरू प्रधानन्यायाधीशको राजीनामाको पक्षमा हो भन्ने सञ्चारकर्मीको प्रश्नमा बडूले भने, “राजीनामा दिनुपर्छ भन्नु पनि एकतर्फी हुन्छ।”