सवा करोड पुरस्कारको फूटबल प्रतियोगिता अर्को साता, टिकटको मूल्य एक सय
अखिल नेपाल फूटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ।
आगामी ३ मंसीरदेखि सञ्चालन हुने प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु. १०० र भीआइपीतर्फ रु. ५०० निर्धारण गरिएको छ। शुक्रबार एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए।
लिगको उद्घाटन खेल ३ मंसीरमा नव प्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ। महासचिव तुलाधरले दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेलाइने जानकारी दिए।
लिग निर्देशक सञ्जीव मिश्रले केही खेल पोखरामा पनि गर्ने तयारी भइरहेको बताए। सबै क्लब सहमत भए मात्रै पोखरामा खेल हुनेछन्।
लिगमा १४ टोलीको सहभागिता रहनेछ। त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, सातदोबाटो क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रि स्टार क्लब, एनआरटी क्लब, फ्रेन्डस क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन्। लिग विजेता टोलीले रु. ७५ लाख र उपविजेताले रु. ५० लाख पुरस्कार प्राप्त गर्नेछ।