रञ्जित रेको पुस्तकको तरङ्ग
जबसम्म हाम्रो नेतृत्व ओत लाग्न दिल्ली वा बेइजिङ वा बाशिङ्टन चहारी राख्छन्, तबसम्म विशेष उद्देश्य, विशेष कारण र विशेष समयमा रञ्जित रेका जस्ता पुस्तक आइरहेछन्।
नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेको पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया-नेपाल टाईज’ अहिले चर्चामा छ। यस्ता पुस्तक विशेष उद्देश्य, विशेष कारण र विशेष समयमा छापिने गरेका छन। जुन यसअघि पनि छिमेकका नोकरशाहहरूले लेखेका पुस्तकमा उल्लेख गरिएका तथ्यहरूले पुष्टि गर्छन्।
घरमूलि र घर सञ्चालन गर्ने जिम्मा लिएकाहरू नसच्चिएसम्म यस्ता पुस्तक निस्की रहन्छन्। सञ्चार माध्यमसँगै अरू पनि यस्ता पुस्तकमा अल्झिन्छन्। तथ्य खोज्न र पुस्तकमा उल्लिखित घटनालाई अन्य सन्दर्भसँग जोड्न लागी रहेका हुन्छन्।
यो पुस्तकसँग आफ्नो सरोकार नभए पनि सञ्चारमाध्यममा गरिएका विवेचनाले तानेको छ। यसअघि विभिन्न समयमा छापिएका पुस्तकहरू जस्तै यसले पनि नेपालमा एक किसिमको बहस सिर्जना गरेको छ। जसले हाम्रो स्वार्थी चरित्र बुझ्न सघाउँछ।
यो बहसको औचित्य कति छ, त्यो छुट्टै विषय बन्छ। यससँगै लेखाइमा लेखक कति ईमानदार बनेका छन्, त्यो अर्को पाटो हो। तैपनि यो पुस्तक प्रकाशित हुने वित्तिकै प्रहरी नेतृत्वका लागि भारतीय दूतावास र दिल्लीसम्मको दर्शन भेटबारे उल्लेख गरिएका पात्रहरूले प्रेस विज्ञप्तिमार्फत सफाइ दिए।
भारतीय दूतावासका कान्सुलर तरकारी किन्न वीर अस्पताल अघिको तरकारी बजारमा जाँदा रहेछन्। ट्राफिक प्रहरीका जुनियर अधिकारीले दूतावासका कन्सुलर हुन भन्ने थाहा पाएपछि आफ्नो सरुवाका लागि गृह मन्त्रालयमा भनी दिन आग्रह गरेछन्।
त्यसमा कुन पक्ष सहि र कुन पक्ष गलत भन्ने विस्तारै समयले देखाउला। यहाँ भने पञ्चायतकालको एउटा सन्दर्भ उल्लेख गर्न जरुरी छ। त्यतिवेला सुरक्षा निकायसँग विदेशी निकायको भेटघाट नियन्त्रित थियो। को राजदूत छ, को दूतावासको कर्मचारी छ भन्ने सरोकार हुँदैनथ्यो। त्यसमा मतलब नै थिएन।
२०४४ सालमा आधारभूत तालिमका दौरान राष्ट्रिय अनुसन्धान विभागका मदनसिंह शाहले गरेको ब्रिफिङ अझै पनि ताजै छ। उनले विदेशी राष्ट्रको चलखेल र काउन्टर इन्टेलिजेन्स गरेका केही दृष्टान्त सुनाएका थिए। त्यतिवेला यस विषयमा नेपाल सरकार कति सजग हुन्थ्यो भन्ने चर्चा गरेका थिए।
२०४७ सालपछि राजनीतिकर्मीले विदेशीको चलखेल बढाउन मलजल गरे। त्यसको थुप्रै दृष्टान्त हाम्रासामु छन् र अझै कति दृष्टान्त हेर्नुपर्ने हो थाहा छैन। प्रहरी नायब उपरीक्षक हुँदाको एउटा प्रसंग यहाँ सान्दर्भिक हुन्छ। लागूऔषध अपराधका विषयमा सूचना समन्वयको सिलसिलामा दूतावासका सरोकारवाला कर्मचारीसँग भेटघाट गर्न लागेको थाहा पाएपछि एक जना जुनियर अधिकारीले सहकर्मीको प्रसंग सुनाएका थिए।
त्यतिवेला भारतीय दूतावासका कान्सुलर तरकारी किन्न वीर अस्पताल अघिको तरकारी बजारमा जाँदा रहेछन्। ट्राफिक प्रहरीका जुनियर अधिकारीले उनी दूतावासका कन्सुलर हुन भन्ने थाहा पाएपछि आफ्नो सरुवाका लागि गृह मन्त्रालयमा भनी दिन आग्रह गरेछन्। दूतावासका कर्मचारीले भनेपछि कसैले नाईनास्ती गर्दैन भन्ने उनले बताएछन्। सुरक्षा निकायको तल्लो तहसम्म यस्तो सोच विकास भएको छ भने अरूको के होला।
विदेशीको चलखेल स-साना कुराबाट भएको हो। भविष्यका लागि आफ्नो स्वार्थमा प्रयोग हुने पात्र छानेर विदेशी तालिम र भ्रमणबाट विदेशी दूतावासको शुरूआत भएको पाइन्छ। ति व्यक्ति विस्तारै सरकारी निकायभित्र आफ्ना योजना लागू गर्न र सरकारी सूचना प्राप्त गर्ने सहयोगीको भूमिका निभाउने स्रोत व्यक्तीका रुपमा स्थापित भए।
विदेशी राजदूतहरूको नेपालको राष्ट्रिय राजनीतिमा नचाहिँदो सरोकार छर्लङ्गै छ। त्यो हाम्रा नोकरशाही र राजनीतिकर्मीको कमजोर मन, मस्तिष्क र आत्मविश्वासकै प्रतिफल हो।
पूर्वराजदूत रेको पुस्तकमा उल्लिखित पात्रहरू त एउटा पाटो भयो। अर्को, नेपाल प्रहरीको प्रमुखको दौडमा दुई जनाको म्याराथन दिल्ली पुगेर टुंगिएको एक जनाले सुनाएको सम्झना छ। पछि पनि संरक्षण पाउने त भइहाले।
यस्तो चरित्रको बिजारोपण गर्ने त हाम्रा राजनीतिकर्मी नै हुन्। आफ्नो ‘प्रोटोकल’ बिर्सेर चुनाव खर्च जोहो गर्न होस्, छोराछोरीलाई पढाउन होस् वा आफू स्थापित हुन होस दूतावासको ढोका चहार्ने दृष्टान्त यथेष्ट मात्रामा नेपाली सञ्चारमाध्यममा आइरहेकै छन्। त्यस्ता, व्यक्ति र चरित्र हाम्रा सम्झनामा ताजै छन्।
सरकार प्रमुख र महत्वपूर्ण मन्त्रालयका मन्त्रीसँग राजदूतको साँझ-बिहानको भेट समाचार बन्दै आइरहेकै छन्। विदेशी राजदूतहरूको नेपालको राष्ट्रिय राजनीतिमा नचाहिँदो सरोकार छर्लङ्गै छ। त्यो हाम्रा नोकरशाही र राजनीतिकर्मीको कमजोर मन, मस्तिष्क र आत्मविश्वासकै प्रतिफल हो। त्यसैले पूर्वराजदूत रेको पुस्तकमा खुलाइएका कुरासँग असहमत हुने ठाउँ कमै देखिन्छ।
यसरी विशेष उद्देश्य, विशेष कारण र विशेष समयमा छापिने पुस्तकसँग प्रतिवाद गर्नका लागि त हामी नै बलियो हुनुपर्छ। जबसम्म हाम्रो नेतृत्व आफूसँगै विश्वस्त हुंदैन र ओत लाग्ने ठाउँ खोज्दै दिल्ली वा बेजिङ वा वाशिङ्टन चहार्न छोड्दैन, तबसम्म यस्ता किताब छापी रहनेछन्। अनि, यस्ता लज्जित बनाउने दृष्टान्त पढिराख्नुपर्नेछ।
(मल्ल नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी हुन्।)