प्रधानन्यायाधीशले आफ्ना लागि तोकेनन् पेसी
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आफ्ना लागि पेसी तोकेका छैनन्।
सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले आफ्ना लागि पेसी नतोक्न प्रधानन्यायाधीश जबरासँग आग्रह गर्दै आएका छन्।
शुक्रबार सर्वोच्च अदालतले जारी गरेको दैनिक पेसी सूचीमा प्रधानन्यायाधीशका लागि इजलास तोकिएको छैन। अन्य न्यायाधीशका लागि आठ वटा इजलासमा २२३ मुद्दाको पेसी तोकिएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले नै पेसी तोक्ने गर्छन्।
आज न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ, कुमार चुडाल, हरिप्रसाद फुँयाल, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाश ढुंगाना, तेजबहादुर केसी, कुमार रेग्मी, र नहकुल सुवेदीका लागि पेसी तोकिएको छ।
नेपाल बार एसोसिएशनको अगुवाइमा कानून व्यवसायीहरूले शुक्रबार बिहानैदेखि सर्वोच्च अदालतको मूल गेटमा प्रदर्शन गरिरहेका छन्। उनीहरूले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन प्रदर्शन जारी राखेका हुन्। तर, प्रधानन्यायाधीश जबरा भने दोस्रो गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्।