मूल गेटमा वकीलको प्रदर्शन, दोस्रो गेटबाट सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश (तस्वीरहरू)
वकीलहरूले मूल गेटमा प्रदर्शन गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा दोस्रो गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्।
प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न नेपाल बार एसोसिएशनको बिहानैदेखि मूल गेटमा प्रदर्शन गरेको थियो। उनीहरूको अवरोधलाई छल्दै प्रधानन्यायाधीश जबरा दोस्रो गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन्।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रेको नेपाल बारले शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको हो। सर्वोच्चकै न्यायाधीशहरूले पनि जबराको विरोध गर्दै आएका छन्।
यसैबीच प्रधानन्यायाधीश जबराले शुक्रबार पनि सबै खाले मुद्दाको पेसी तोकेका छन्। बारको विरोधपछि केही दिन उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दाको मात्रै पेसी तोकेका थिए।
प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ, कुमार चुडाल, हरिप्रसाद फुँयाल, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाश ढुंगाना, तेजबहादुर केसी, कुमार रेग्मी, र नहकुल सुवेदीलाई बेन्च तोकेका छन्।