बागमतीमा जमकट्टेल र लामाले लिए मन्त्रीको शपथ
बागमती प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बागमतीका नवनियुक्त मन्त्रीद्वय सालिकराम जमकट्टेल र निमा लामाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुवै जनालाई शपथ खुवाएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट जमकट्टेल र नेपाली कांग्रेसबाट लामा मन्त्री भएका हुन्। जमकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।
जमकट्टेल यसअघि नेकपा (एमाले) नेतृत्वको सरकारमा आन्तरीक मामिला तथा कानूनमन्त्री भएका थिए। योसँगै बागमतीको मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ।
कांग्रेस र माओवादीको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका थिए। त्यतिवेला उनले कांग्रेसका तर्फबाट कृष्णलाल भँडेल, माओवादीको तर्फबाट कुमारी मोक्तान र एकीकृत समाजवादीका तर्फबाट कृष्ण खनाललाई मन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले सदनबाट विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए। तर, चार दलीय गठबन्धनमा मन्त्रालय बाँडफाँड र सङ्ख्याको विषयमा सहमति हुन सकेको थिएन। आज पनि मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएपछि शपथ ग्रहण समारोह दुई घण्टा ढिलो भएको थियो।