काठमाडौंले १५ सय वर्षअघि कसरी गर्थ्यो पानीको जोहो?
१५ सय वर्षअघिको काठमाडौं उपत्यकाको समाजले जसरी पानी सम्बन्धी ज्ञान र प्रयोग गर्ने तरीका विकास गर्यो, आजको दिन त्यो प्रयोगलाई केही मात्र बुझे पनि पानी अभावको समस्या हल हुन सक्थ्यो।
काठमाडौं उपत्यकामा वर्षमा दुई महीना मनसुन हुन्छ। बाँकी १० महीना त्यही दुई महीना परेको पानी सञ्चय गरेर प्रयोग गरिन्छ। विश्व इतिहास हेर्दा सबै जस्तो देशहरूमा इनारको विकास बढी भएको पाइन्छ।
काठमाडौंमा पनि इनार धेरै अघि बनेको पाइन्छ। यसको अर्थ सतहको पानी सकिएको वेला धर्तीबाट पानी खोज्नुपर्छ भन्ने ज्ञान त्यतिवेलै पुर्खाहरूमा थियो भन्ने हुन्छ।
आकाशको पानी पनि बचाएर अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ भनेर लिच्छविकालभन्दा अघिबाटै अभ्यासहरू भएका छन्। लिच्छविकालको शुरूआतमा ढुङ्गेधाराको प्रचलन शुरू भइसकेको थियो। ती ढुङ्गेधाराहरू करीब पाँच सय वर्ष चलिरहेका थिए भन्ने कुरा छ। यो अभ्यास गर्नेमा दक्षिणएशियामा हाम्रो देश नै एक मात्र हो।
लिच्छविकालमा नै बनाइएका अन्य धरै पानीका स्रोतहरू अझै पनि छन्। लिच्छविकालका शिलालेख हेर्दा शुरूमै धेरै संस्कृत शब्दहरूमा लेखिएको पाइन्छ। तर, पानीसँग सम्बन्धित गैर-संस्कृत शब्द पनि प्रयोग भएका छन्। जस्तै दिमक (पोखरी), तिलम र तिलमका (नहर), लखमक (इनार)। त्यतिवेला यी शब्द प्रचलित भइसकेकाले लिच्छविकालीन शिलापत्रमा संस्कृति भाषाको प्रयोग नभएको पाइन्छ।
हाम्रो पानी प्रयोगको प्रणाली लिच्छविकाल भन्दाअघि किरातकालमै शुरू भइसकेको देखिन्छ। किनभने, लिच्छविकाल आउँदा नै उनीहरूले यो सबै प्रणाली त्यही भएको पाएका थिए। त्यसैले ती शब्दहरू फेरिएनन्। फेरि ती शिलालेखमा संस्कृत भाषा लेख्न नयाँ समाजमा सजिलो नहुने पनि देखियो। लिच्छवि शिलालेख लिच्छविहरू आएको चार सय वर्षपछि मात्र शुरू भएको हो।
ढुङ्गेधारालाई काठमाडौंकै स्थानीय रैथानले विकास गरेको पानी प्रयोगको प्रणाली भन्न सकिन्छ। ५५० एडीमा बनेको हाडीगाउँको ढुङ्गेधारा अझै छ। त्यो धारा १० वर्ष अघिसम्म चलिरहेको थियो।
उनीहरू आउँदा ‘ग्याङ्गटिक प्लेन’ हरूबाट ज्ञान लिएर आए होलान्, तर त्यो इनारसँग बढी सम्बन्धित थियो। ढुङ्गेधाराको ज्ञान त्यहाँ थिएन। त्यसैले ढुङ्गेधारालाई काठमाडौंकै स्थानीय रैथानले विकास गरेको पानी प्रयोगको प्रणाली भन्न सकिन्छ। ५५० एडीमा बनेको हाडीगाउँको ढुङ्गेधारा अझै छ। त्यो धारा १० वर्ष अघिसम्म चलिरहेको थियो।
विस्तारै लिच्छविकाल हावी हुँदै गएपछि पानी प्रयोजनका साधनलाई संस्कृत भाषा दिइन थालियो। जस्तै, नहरलाई पानी मार्ग भनियो। यी र यस्तै शब्द उतिवेला नै बढी प्रयोग भएकाले पानी प्रणाली विकास भएको चाँडै भएको हुनसक्छ। त्यसवेला पानीको स्रोतको सुरक्षासँगै सिंचाइ पनि उस्तै गतिलो हुन्थ्यो।
लिच्छविकालको शिलालेख हेर्दा त्यसरी पोखरी, इनार, नहरको प्रक्रियाबाट खाने पानी, लुगा धुन, नुहाउन, पूजापाठ, सिंचाइ, उद्योग, मठमन्दिर बनाउन प्रयोग भएको पाउँछौं। एक किसिमले आज हामीले हेर्दा त्यस्ता प्रयोजनलाई हाम्रो पुर्खाले विकसित गरेको प्रणाली उत्कृष्ट थियो। शिलापत्र हेर्दा त्यतिवेला जलद्रोणी, सुखा परिखा, तिलम, जलेद्र (पानीका स्रोतहरूको संस्कृत नामहरू) शुरू भइसकेको थियो।
सडकमा हिंड्नेहरूलाई समेत नि:शुल्क शुद्ध पानी पिलाउने प्रणाली विकास गरिएको थियो। पिउने पानी पनि इनारमा आधारित थियो। सलेलोधारा यन्त्रोधपानम कृत्वा (पानीलाई नियन्त्रण गर्ने) मेसिन बनाएको नक्सालस्थित एउटा शिलालेखमा उल्लेख छ। त्यसैले उतिवेला पनि पम्प प्रयोग भएको पाइएको तथ्य छ।
पाँचौं शताब्दीमा संसारको कुन चाहिं देशमा शहरी पानी आपूर्ति प्रणाली थियो भन्ने प्रश्नको जवाफ काठमाडौं मात्र हो। यो बाहेक अन्य ठाउँहरू जस्तै रोममा भर्खर शुरूआत हुँदै थियो।
त्यस समय हेर्दा पोखरीहरू पनि सिंचाइ गर्ने प्रयोजनले बनाएका थिए। उपत्यकामा पनि यस्ता पोखरी अग्ला ठाउँमा बनाइएका छन्। जस्तै, हाडीगाउँको लिच्छवि पूर्वको पोखरी जुन उच्च ठाउँमा छ। त्यस्तै, ढुङ्गेधारा, जुन मल्लकालमा पनि धेरै विकसित भए। तर, बुझ्नैपर्ने कुरा पाँचौं शताब्दीमा संसारको कुन चाहिं देशमा शहरी पानी आपूर्ति प्रणाली थियो भन्ने प्रश्नको जवाफ, काठमाडौं मात्र हो। यो बाहेक अन्य ठाउँहरू जस्तै रोममा भर्खर शुरूआत हुँदै थियो।
त्यस्तै, इनार, जदू, राजकुलो बनाइसकेका थिए। लिच्छविकालमा पानीको गुणस्तरबारे चेत पनि थियो। त्यसवेलाका शिलालेखमा सु-स्वादु, शीतल, विशुद्ध, विमलम पानीयाम (सफा पिउने पानी, कीटाणुरहित) भन्ने शब्द पनि उल्लेख छ। त्यसै त्यो वेला पोखरीमा माछापालन गर्नेलाई कर छूट थियो। उनीहरू वैष्णव समुदायको भएकाले माछा खानेभन्दा पनि माछा भए पोखरीको पानी सफा हुन्छ भन्ने रणनीति प्रयोग गरेको पाइन्छ।
त्यसैगरी पानी वितरण प्रक्रिया व्यवस्थापन पनि गरिएको थियो। एउटा शिलालेखमा कैलासकोट भवनका लागि बनाएको एक जना कर्मचारीको नाम नै पानीया कर्वान्तिका (पानीको मेकानिङ) थियो। कैलासकोट भवन पाँच तले थियो। उनीहरूले त्यही वेला नै पानीलाई माथि र तल गराएका थिए।
त्यसवेला (सन् ६०४ तिर) मा पनि पानी बचाउन र संरक्षण गर्न यस्तो प्रणालीको विकास गर्न ‘पानिया गोष्टी’ (पानी वितरण गोष्टी) र ‘प्रणाली गोष्टी’ (पानीको व्यवस्थापन) पनि बनाएको थियो।
त्यतिवेला पनि सिंचाइको व्यवस्थापन गर्ने समिति बनाएका थिए। उनीहरूको कानूनमा वन क्षेत्रमा रूख काट्न, खेती गर्न, रूख बाल्न रोक लगाएको थियो। यो सबै हरित क्षेत्र मास्न हुन्न भन्ने चेतनाको परिणाम थियो। त्यति नै वेला सल्लाका रूखहरू विभिन्न ठाउँमा रोप्ने अभियान जस्तै शुरू भइसकेको थियो। उनीहरू आफूले बनाएका धरोहरहरूको सुरक्षा र संरक्षणमा पनि उस्तै सचेत थिए।
त्यतिवेला पनि सिंचाइको व्यवस्थापन गर्ने समिति बनाएका थिए। उनीहरूको कानूनमा वन क्षेत्रमा रूख काट्न, खेती गर्न, रूख बाल्न रोक लगाएको थियो। यो सबै हरित क्षेत्र मास्न हुन्न भन्ने चेतनाको परिणाम थियो।
उनीहरूले बनाएका ती तिलमको (नहर) मर्मतसम्भार गर्न राज्यले बजेट छुट्याउँथ्यो। साथै, अहिले हेर्दा जात्रालाई जात्रा मात्र भनेर बुझेका छाैं, तर त्यसवेला यिनै जात्रा, पर्वहरू वार्षिक आम्दानीका स्रोत पनि थिए। त्यो रकमले पानीका स्रोतको मर्मत हुन्थ्यो। अहिलेको पुस्ताले भत्किएपछि मात्र सम्हाल्न जानेको छ। तर, त्यसवेला बिग्रन नपाउँदै सम्भार गरिन्थ्यो।
६२४ एडीमा पाटनका लागि अंशु वर्माले बनाएको इनारको मर्मत गरेको पाइन्छ। त्यसमा पनि ठूला ठूला पानीको महाप्रणाली विकास गर्न परे उनीहरूले संस्था नै खडा गरेर जिम्मेवारी दिन्थे। जस्तै, मीननाथ (७२४ एडी) शिलालेख हेर्दा त्यहाँ सिचाइ कसरी गर्ने, गाउँगाउँमा कति भाग पानी पुग्छ भन्ने कुरा नै प्रष्ट छ।
त्यसै गरेर पानीका स्रोत र प्रयोजन प्रणालीको संरक्षण र दिगोपनका लागि धेरै प्रयास गरिएको पाइन्छ। जस्तै, हाडीगाउँमा सत्यनारायणको जात्रा पानी वितरकहरूले गर्ने जात्रा हो। मच्छेन्द्रनाथको जात्रा पनि पानी प्रणालीको मर्मतसँग सम्बन्धित भएको देख्छौं। विभिन्न किसिमका पोखरीको प्रयोगले पनि उपत्यकामा पानीको संरक्षण प्रयोग सम्भव भएको देखिन्छ। त्यसवेला वर्षा, कुवा, नहर, इनारको प्रयोगबाट पोखरी बनाउने प्रविधि आफैं बनाएका थिए।
त्यसकारण पोखरी बनाउँदा पानी 'सिल' गरेमा कति दिनसम्म राख्न सक्ने लगायतको राम्रो ज्ञान थियो। ‘ग्राउन्ड रिचार्ज टेक्निक’ बारे उनीहरूलाई थाहा भएकै कारण अग्लो शहर भएको ठाउँमा पनि इनार बनाउन सके। नहर पनि कसरी सधैंभरि चल्नसक्छ, कसरी बन्द हुँदैन भन्ने उनीहरूको अध्ययनले नै उपत्यकाका लागि पानी उपयोग हुन सम्भव भएको देखिन्छ।
त्यो उनीहरूले बनाएका नहरहरू १५ सय वर्षसम्म मर्मत गर्ने नपरेको देखिएको छ। ढुङ्गेधारामा पोखरीबाट नहर लगाएर पानी ल्याएको देख्छौं भने ‘इनफिलट्रेसन ग्यालरी’ बाट पिउन योग्य पानी बनाउन चारैतिर सिल गरेर पानी पनि ल्याइन्थ्यो। त्यसमा धेरै कालोमाटो प्रयोग भएको छ। उनीहरूलाई यसले सिल गर्छ भन्ने पनि जानकारी थियो।
अहिले पनि लिच्छविकालीन ढुङ्गेधारा हेर्दा फिल्टर हुने प्रविधि त्यसवेला नै विकास भएको देखिन्छ। पानी परेको वेला धेरै र हिलो ल्याउन सक्ने जोखिमबाट बचाएर पिउन योग्य बनाउन उपत्यकाका लिच्छविकालीन ढुङ्गेधाराको मूल पानी आउने मुखमा अध्ययन गर्दा हामीले नै फिल्टर भेटेका थियौं।
अहिले पनि लिच्छविकालीन ढुङ्गेधारा हेर्दा फिल्टर हुने प्रविधि त्यसवेला नै विकास भएको देखिन्छ। पानी परेको वेला धेरै र हिलो ल्याउन सक्ने जोखिमबाट बचाएर पिउन योग्य बनाउन उपत्यकाका लिच्छविकालीन ढुङ्गेधाराको मूल पानी आउने मुखमा अध्ययन गर्दा हामीले नै फिल्टर भेटेका थियौं। त्यो फिल्टर बनाउँदा बालुवा र इँटा प्रयोग भएका थिए। यो एक किसिमको कार्बन फिल्टर नै हो।
अहिले पनि ढुङ्गेधारा हेर्दा मानिसहरू सांस्कृतिक पक्ष मात्र देख्छन्, तर यसमा पनि हाम्रो पुर्खाले पहिल्यै विज्ञानको प्रयोग गरेका छन्। जस्तै, पाँच वटा धारा छन् भने एकैपटक सबै धारा सुक्दैनन्। पानी कम भयो भने तीन, दुई र एउटा हुँदै सुक्छ। विभिन्न स्तरमा पानी विभाजन गरेर, काठको डुँडहरू प्रयोग गरेपछि यो सम्भव भएको हो।
पानी खेर फाल्नु हुँदैन भनी इटिपुँखु (ढुङ्गेधाराबाट झरेको पानी सञ्चय हुने स्थान) पनि बनाइएका थिए, तर अहिले नयाँ बनाइएका ढुङ्गेधारामा यो पाइँदैन। धेरै पानी छ भन्दैमा खेर जान दिनु हुँदैन भन्नेमा उतिवेलाको समाज धेरै सचेत थियो। त्यसकारण, पानीलाई कसरी सञ्चय गर्ने, कसरी वितरण गर्ने, कसरी शुद्ध गर्ने, पानीका स्रोत कसरी व्यवस्थापन गर्ने र घरघर तथा उपत्यका बाहिर पनि सिंचाइ गर्नेबारे सयौं वर्षअघि अभ्यास भएको पाइएको छ।
जुन हामी पानी संरक्षण, सञ्चय, वितरणको विषयमा पश्चिमा विज्ञान प्रणाली भनेर लिन खोजिरहेका छौं। वास्तवमा त्यो हाम्रै पुर्खा र हाम्रो नै ज्ञानको अभ्यास हो। हाम्रा बाबुबाजेले प्रकृतिमैत्री भएर विकास गरेका यस्ता प्रणाली केही मात्र पनि सिकेर त्यसको अध्ययन, खोज गरेर त्यस्ता प्रणालीको उपयोग गर्न सके पानीको अभाव केही कम त पक्कै हुन्थ्यो।
१५ सय वर्षअघि काठमाडौं उपत्यकाको समाजले जसरी पानी सम्बन्धी ज्ञान र पानी प्रयोग गर्ने तरीका विकास गर्यो, आजको दिनमा त्यो प्रयोगलाई केही मात्र बुझे पनि उपत्यकाको पानीको समस्या केही हल हुनसक्छ। यसैलाई शिक्षा प्रणाली र नीति निर्माण तहमा लग्नुपर्छ। तर बिडम्वना, पुर्खाले विकास गरेका प्रणालीलाई अहिलेको पुस्ताले फगत कथाको रूपमा मात्र पढ्ने र सुन्ने गरेको छ।
(२४ कात्तिक, २०७८ मा सेन्टर फर सस्टेनेबिलिटी र इम्प्याक्ट फाउन्डेशनले आयोजना गरेको ‘प्रोमोटिङ नेपाल्स् इन्डेजेनियस् टेक्नोलोजिज् फर बुइल्डिङ क्लाइमेट-रेजिलिएन्ट कम्युनिटिज्’ विषयक वेबिनारमा इतिहासकार तिवारीले राखेको मन्तव्यको सम्पादित अंश।)