टी-२० विश्वकप: फाइनल प्रवेशका लागि पाकिस्तान र अस्ट्रेलिया भिड्दै
टी-२० विश्वकपको फाइनल प्रवेशका लागि आज पाकिस्तान र अस्ट्रेलिया भिड्न लागेका छन्।
यूएईको दुबईमा राति ७ः४५ बजे पाकिस्तान र अस्ट्रेलियाबीच सेमिफाइनल हुनेछ। बुधबार भएको पहिलो सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा प्रवेश गरिसकेको छ।
अहिलेसम्मका खेल अनुसार, पाकिस्तान बलियो देखिएको छ। सुपर-१२ का पाँचै खेल जित्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो।
पाकिस्तानका सबै खेलाडी फर्ममा देखिएका छन्। पाँच खेलमा पाँच जना खेलाडी नै प्लेयर अफ द म्याच भएका छन्।
अस्ट्रेलिया भने सुपर-१२ का पाँच खेलमध्ये चार जित र एक हार बेहोर्दै सेमिफाइनलमा पुगेको हो। दक्षिण अफ्रिकासँग पराजित भए पनि रनरेटका आधारमा अस्ट्रेलियाको सेमिफाइनल यात्रा तय भएको थियो।
अहिलेसम्म पाकिस्तानसँग भएका विश्वकपका सबै नक-आउट खेल अस्ट्रेलियाले जितेको छ। सन् १९८७ को विश्वकप सेमिफाइनल, सन् १९९९ को विश्वकप फाइनल, सन् २०१० को टी-२० विश्वकप सेमिफाइनल र सन् २०१५ को विश्वकप क्वार्टरफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको थियो।
पाकिस्तानले यूएईमा भएका पछिल्लो १६ वटा टी-२० अन्तर्राष्ट्रिय खेल जितेको छ। सन् २०१५ को नोभेम्बरमा इङ्ल्यान्डसँगको खेल मात्रै सुपर ओभरमा हारेको थियो।
आज जित्ने टोली टी-२० विश्वकपको उपाधिका लागि २८ कात्तिकमा न्यूजिल्यान्डसँग भिड्नेछ।