बागमतीमा मन्त्रिपरिषद् विस्तार गरिँदै, जमकट्टेल र लामा मन्त्री बन्ने
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, आज दुई जना मन्त्री थप्ने तयारी गरिएको छ। नेकपा (माओवादी केन्द्र)बाट सालिकराम जमकट्टेल र नेपाली कांग्रेसबाट निमा लामा मन्त्री बन्ने भएका छन्।
जमकट्टेललाई आर्थिक मामिला तथा योजना र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
जमकट्टेल माओवादी संसदीय दलका नेता हुन्। उनी यसअघि नेकपा (एमाले) नेतृत्वको सरकारमा पनि मन्त्री भएका थिए।
योसँगै मन्त्रिपरिषद् ६ सदस्यीय हुनेछ। यसअघि कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला तथा कानून, कुमारी मुक्तान समाजिक विकास र कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भइसकेका छन्।
सत्तारूढ गठबन्धनबीच सहमति बन्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ।