कसरी लेखियो मदन पुरस्कार जित्ने पुस्तक?
मदन पुरस्कारका लागि शीर्ष नौमा परेपछि पुस्तकको चर्चा र बिक्री बढ्यो। पुरस्कार घोषणाको हप्ता दिनभित्र सबै पुस्तक सकियो। त्यसपछि साझा प्रकाशनले पुस्तकको दोस्रो संस्करण प्रकाशन गरेको छ।
२०७७ सालको मदन पुरस्कार मेरो कृति लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहले पाएको छ। मैले पुरस्कार पाएसँगै ऐतिहासिक कागजातको खोज-अनुसन्धान गर्ने अन्य व्यक्तिलाई पनि उत्प्रेरणा जगाउने अपेक्षा गरेको छु। मेरो यहाँसम्मको यात्रा भने बेग्लै छ।
मेरो जन्मथलो तेह्रथुमको आठराई हो। जागीरका लागि लोक सेवा आयोग पास गर्न नेपालको इतिहासको गहन अध्ययन गर्नु पर्थ्यो। त्यसैवेला सेन तथा शाह राजाहरूबाट प्रदान गरिएका सरलीकृत स्याहामोहर र लालमोहरहरू छापिएको देख्दा लिम्बुवानमा भएका दस्तावेजहरू खोज अनुसन्धान गरी प्रकाशमा ल्याउने अभिलाषा जाग्यो।
पूर्वी नेपालमा सेन र शाहकालबाट प्रदान गरिएका स्याहामोहर, लालमोहरमा लेखिएका विवरणबाट लिम्बुवानका लिम्बू, याक्खा, खम्बू, आठपहरियालाई राय, राई भनी लालमोहर दिएको देखिन्छ। मेरो हजुरबुबाको हजुरबुबाले लिम्बूहरूले पाउने गरेको सुब्बाङ्गी पाएका थिए। सुब्बाको विशेषण सुब्बाङ्गी हो।
किपटियाले आफ्नो किपट क्षेत्रमा रस्ती चलाई बस्ती बसाउने गर्थे। किपटिया सुब्बाले अमाल चलाउने हुँदा मुद्दामामिला निरुपण गरी शान्ति सुरक्षा कायम गर्ने समेत अधिकार थियो, रैतीबाट तिरो उठाई सरकारमा बुझाउँथे। सुब्बाको शेषपछि किपटिया अधिकार क्रमशः उत्तराधिकारीमा सर्दै जान्थ्यो।
इतिहासको पुस्तक पढिरहँदा लिम्बुवानका प्रकाशमा आउन नसकिरहेका थुप्रै कुरा बाहिर ल्याउनुपर्छ भन्ने लागिरहन्थ्यो। दाइ शेरबहादुर इङ्नामसँगको सहलेखनमा २०७० मा तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा पुस्तक प्रकाशनमा ल्याउन सफल भएँ। त्यो पुस्तक नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेको थियो।
त्यसताका मालपोत कार्यालय, तेह्रथुमका पुराना ढड्डा कैयौं हप्ता लगाएर अध्ययन गरें। प्राप्त लालमोहर र मालअड्डाको अभिलेखका आधारमा तेह्रथुम जिल्लामा संवत् १८६७ सम्म सात जना मात्र सुब्बा भएका थिए। सुब्बाबाट फुटीसुब्बा हुने सरकारी नीति अनुसार, १९९७ सालसम्म ८०४ जना सुब्बा, राईगिरी, फुटीसुब्बा, तिरुवासुब्बा, ठिङ्गेसुब्बा भएको निष्कर्ष निकालेका थियौं।
२०७१ सालमा धनकुटाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदा मैले जिल्लामा भएका ऐतिहासिक कागजात टिपोट गरें। २०७५ सालमा लिम्बूजातिको इतिहास पुस्तक प्रकाशन भयो। दुवै पुस्तक लेखिरहँदा मेरो मस्तिष्कमा लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकको खाका तयार हुँदै गएको थियो र २०७७ सालमा प्रकाशन पनि भयो।
यो पुस्तकमा १७१९-२०२० सालसम्मका जम्मा ३९५ वटा ऐतिहासिक कागजात छन्। पुस्तकमा सक्कल–नक्कल स्याहामोहर, लालमोहर, कस्यरुक्का, भारदार र सरकारी कार्यालय प्रमुखले किपटिया सुब्बाहरूलाई दिएका कागजात छन्। साथै, अहिलेसम्म प्रकाशमा नआएको राजा पृथ्वीनारायण तथा प्रतापसिंह शाहको शङ्कास्पद मृत्यु टिपोट पनि समावेश छ। महाराज जङ्गबहादुर राणाको दुर्लभ हस्ताक्षर भएको सक्कल इस्तिहार र सुब्बा, राई, थरीहरूलाई युद्धको वेला हातहतियार लिई ओलाङ्चुङ्गोला जान उर्दी गरिएको कागजात पनि यसमा छ।
अहिलेसम्म प्रकाशमा नआएको राजा पृथ्वीनारायण तथा प्रतापसिंह शाहको शङ्कास्पद मृत्यु टिपोट पुस्तकमा समावेश छ। महाराज जङ्गबहादुर राणाको दुर्लभ हस्ताक्षर भएको सक्कल इस्तिहार र सुब्बा, राई, थरीहरूलाई युद्धको वेला हातहतियार लिई ओलाङ्चुङ्गोला जान उर्दी गरिएको कागजात पनि यसमा छ।
त्यस्तै, गैरलिम्बूलाई दिइएको सुब्बाङ्गी र गैरलिम्बुवान क्षेत्रको किपटभूमि व्यवस्थाबारे केही कागजात पनि तुलनात्मक अध्ययनका लागि समावेश गरेको छु। यस्ता महत्त्वपूर्ण कागजात जतन बेगर मक्किंदै, सड्दै गएको अवस्थामा थिए। मेरो ब्रह्मले बतायो कि तिनीहरू अहिले सङ्कलन गरी प्रकाशन नगरे केही दशकपछि नष्ट हुन्छन्।
खोज अभियान
किपटियाका अधिकांश सन्तति काठमाडौं उपत्यका र तराईका विभिन्न जिल्लामा छन्। प्रबुद्ध व्यक्तिसँग सम्पर्क गरी कागजात हुनसक्ने सम्भावित व्यक्तिका नाम, ठेगाना र सम्पर्क नम्बर टिपोट गरें। ऐतिहासिक कागजात खोज्दै हिंड्दा ती दस्तावेज पाउन सजिलो थिएन। किन चाहियो, केका लागि चाहियो, के गर्नुहुन्छ, कसलाई दिनुहुन्छ, के पाउनुहुन्छ आदि प्रश्न गर्थे। सम्झाइबुझाइ गरेर कागपत्र लिनुपर्थ्यो।
उनीहरूलाई भन्ने गर्थें, “विश्वास लागे सक्कल प्रति दिनुहोस्, काठमाडौं लगेर राष्ट्रिय अभिलेखालयमा समेत अभिलेखीकरण गरी मर्मतपछि प्रयोग गर्छु र सक्कल प्रति जस्ताको तस्तै फिर्ता गर्छु। सक्कल प्रति दिनुभएन भने त्यसको फोटो खिचेर लैजान्छु।”
लैजान नदिएका कागजात स्क्यान गर्थें। स्क्यानिङ गर्न नपाए फोटो खिच्थें। ज-जसले सक्कल दिए, इमानदारीसाथ राष्ट्रिय अभिलेखालयमा अभिलेख राखी र मर्मत समेत गरेर फिर्ता गरेको छु।
केही कागजात छ भन्ने थाहा पाएपछि तेह्रथुमको फेदाप गाउँपालिका-३ स्थित मेहरबुङका एक पङ्यांगू लिम्बूकहाँ पुगें। पुरानो डेलीमा भएका केही कागज काम लाग्ने पाइयो। उनले ‘मलाई काम छैन, फाल्ने विचार गरेको थिएँ, लैजानू’ भने। तर, फिर्ता गर्ने शर्तमा कागजात लिई गाउँ नजिकको होटलमा बसें। अफसोस, तिनै व्यक्ति भोलिपल्ट बिहान होटलमा आई कागजात फिर्ता लगे।
लैजान नदिएका कागजात स्क्यान गर्थें। स्क्यानिङ गर्न नपाए फोटो खिच्थें। ज-जसले सक्कल दिए, इमानदारीसाथ राष्ट्रिय अभिलेखालयमा अभिलेख राखी र मर्मत समेत गरेर फिर्ता गरेको छु।
धनकुटाको राजारानी केन्द्र बनाई चौबीस थुममा पुगेको थिएँ। बुढी मोरङका देव इवाहाङसँग कागजात भएको पत्ता लगाई फोन गरें। कागजात सुरक्षित राख्न धरान निवासी केबी इवाहाङलाई दिएका रहेछन्। राजारानीबाट धरान गई एक साइबरमा कागजात मिलाउँदै थिए। केबी इवाहाङ मलाई खोज्दै आइपुगे। उनले पुराना कागजात देखाउँदै ‘यो कुन भाषामा लेखिएको हो’ भनेर सोधे।
त्यो मैथिली अक्षरमा लेखिएको संवत् १८१४ को सक्कल स्याहामोहर थियो। अरे बाफरे, सक्कल स्याहामोहर, साथमा संवत् १८५६ को लालमोहर पनि ल्याएका थिए। खोज अनुसन्धानमा सक्कल स्याहामोहर कतै पाइएको थिएन। त्यो दिन खुशीको सीमै रहेन।
यस्तै, पुराना कागजात भएका काठमाडौंका धेरैजसो कार्यालय पुगेर दस्तावेजको छाया प्रति लिएँ। एक सरकारी विभागमा ‘लिम्बुवान सम्बन्धी कागजात अध्ययन गरी प्रकाशन गर्न पाऊँ’ भनी निवेदन दिएँ। महानिर्देशकले निवेदन हेरी मातहतका कर्मचारीसँग छलफल गरे। उनले निवेदनमा लेखिएका कागजात प्रकाशित गर्दा जातीय सद्भाव बिथोलिने निष्कर्ष निकाले। सौभाग्यवश सोही विभागको मन्त्रालयको सचिव चिनजान भएकाले कागजात हेर्न र प्रकाशित गर्न पाएँ।
विदेशमा रहेका व्यक्तिबाट पनि सामग्री जुटाइयो। यो पुस्तकमा कहिल्यै प्रकाशित नभएका कैयन् ऐतिहासिक दस्तावेज समेटिएको छ। यद्यपि, पुस्तकमा लिम्बुवानका सम्पूर्ण कागजात छैनन्। बाँकी कागजातको पनि खोजबिन गरी प्रकाशन गर्ने थप दायित्व छ।
अब बाँकी समय पनि यसै कार्यमा समर्पित गर्ने अठोट लिएको छु। यस पुस्तकले देशको तथ्यपरक इतिहास लेख्न र लिम्बुवानको इतिहास पुनर्लेखनमा समेत मद्दत पुग्ने विश्वास छ।
यस पुस्तकले पुरस्कार पाएपछि लिम्बुवानको इतिहासले संस्थागत मान्यता पाएको बोध भएको छ। पुरस्कार प्राप्तिले पूरै लिम्बुवान सहित समग्र विद्वत् वर्गकै शिर माङ्गेन्ना भएको अर्थात् उठेको महसूस गरेको छु।
पुरस्कार घोषणा
मेरो कृतिले मदन पुरस्कार पाउला भन्ने ज्ञान नहुँदा निवेदन दिने सोच बनाएको थिइनँ। शुभेच्छुकको सल्लाह बमोजिम मदन पुरस्कार गुठीमा दर्ता गरें। त्यसपछि चासो पनि राखिनँ। अनायास, यो वर्षको २२२ कृतिमध्ये शीर्ष नौमा मेरो पुस्तक समावेश भएको सूचना पाएँ। प्रारम्भिक चरणमा यो कृति छनोटमा पर्नु नै कता हो कता विजय भएको अनुभूत गरें।
त्यसपछि छनोटमा परेका सबै पुस्तक सूक्ष्म ढङ्गले पढें। भाषा र विषयवस्तु नियालेँ। लेखन शैलीमा नदी झैं सलल बगेका अरूका पुस्तक सामु मेरो कृतिको उचाइ नपुग्ने ठहर्याएँ। तथापि, विषयवस्तुको दृष्टिले मेरो पुस्तक अरूका कृतिसँग समकक्षी अर्थात् १९-२० जस्तो भएको महसूस भने गरें। मेरो कृति छनोट समितिका सदस्यको चित्तमा गढेछ।
एक हितैषीबाट मेरो पुस्तक पुरस्कृत भएको जानकारी पाएँ। उनैले मदन पुरस्कार गुठीको विज्ञप्ति मेसेन्जरमा पठाएपछि मात्र पत्याएँ। त्यसपछि खुशीको सीमा नै रहेन। जीवनमा अहिलेसम्मकै उत्कृष्ट सफलता प्राप्तिको अनुभूति भयो।
त्यसपछि बधाईको ओइरो वर्षियो। यसै सन्दर्भमा, विभिन्न पत्रिका, एफएम र टेलिभिजनमा अन्तर्वार्ता दिएँ। राष्ट्रिय अभिलेखालयबाट अभिनन्दन तथा बधाई पाएँ। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारबाट २५ असोज २०७८ मा भेटेरै बधाई पाउने सौभाग्य मिल्यो।
मदन पुरस्कारका लागि शीर्ष नौमा मनोनयनमा परेपछि यो पुस्तकको चर्चा र बिक्री बढ्यो। पुरस्कार घोषणाको हप्ता दिनभित्र सबै पुस्तक सकियो। त्यसपछि साझा प्रकाशनले पुस्तकको दोस्रो संस्करण प्रकाशन गरेको छ।
यस पुस्तकले पुरस्कार पाएपछि लिम्बुवानको इतिहासले संस्थागत मान्यता पाएको बोध भएको छ। पुरस्कार प्राप्तिले पूरै लिम्बुवान सहित समग्र विद्वत् वर्गकै शिर माङ्गेन्ना भएको अर्थात् उठेको महसूस गरेको छु।
नेपाल एक बहुभाषिक, बहुऐतिहासिक, बहुसांस्कृतिक र बहुपहिचानले भरिएको सुन्दर मुलुक हो। यहाँका कतिपय समुदायमा यस्ता मणितुल्य ऐतिहासिक कागजात हुनसक्ने प्रबल सम्भावना छ। मलाई विश्वास छ, अरू अध्येताले सम्बन्धित ठाउँ, क्षेत्रमा रहेका ऐतिहासिक कागजात खोजबिन गर्नुहुनेछ।
(लेखक इङ्नामले २४ कात्तिक २०७८ मा आयोजित मदन पुरस्कार वितरण समारोहमा राखेको मन्तव्यको सम्पादित अंश।)