टी-२० विश्वकप : इङ्ल्यान्ड र न्यूजिल्यान्ड सेमिफाइनलमा भिड्दै
आईसीसी विश्वकप-२०१९ को फाइनलमा भिडेको साढे दुई वर्षपछि फेरि इङ्ल्यान्ड र न्यूजिल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा भिड्न लागेका छन्।
यूएईको राजधानी अबुधावीस्थित क्रिकेट मैदानमा आज साँझ ७ः४५ बजे टी-२० विश्वपकको पहिलो सेमिफाइनल हुन लागेको छ। न्यूजिल्यान्ड सन् २०१९ को विश्वकपको बदला लिन मैदानमा उत्रिनेछ।
त्यतिवेला इङ्ल्यान्डले सुपर ओभरमा न्यूजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो। न्यूजिल्यान्डका खेलाडीको थ्रो इङ्ल्यान्डका बेन स्ट्रोकको ब्याटमा लागेपछि थप एक रनका लागि दगुरेका थिए।
एक्स्ट्रा रन बटुल्न पाउँदा इङ्ल्यान्ड विश्वकप जित्न सफल भएको थियो। त्यो फाइलनलाई बिर्साउने गरी आजको प्रतिस्पर्धामा उत्रिने न्यूजिल्यान्डका कप्तान क्यान विलियम्सनले बताएका छन्।
न्यूजिल्यान्ड समूह-२ को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। न्यूजिल्यान्डले सुपर-१२ मा अफगानिस्तान, नामिबिया, स्कटल्यान्ड र भारतलाई पराजित गरेको थियो भने पाकिस्तानसँग हार बेहोरेको थियो।
इङ्ल्यान्ड भने समूह-१ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। इङ्ल्यान्डले श्रीलंका, अस्ट्रेलिया, बाङ्लादेश र वेस्ट इन्डिजलाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो।
दक्षिण अफ्रिकासँग समान आठ अङ्क जोडेको भए पनि रनरेटका आधारमा इङ्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका हुन्।
यसअघि इङ्ल्यान्ड र न्यूजिल्यान्डबीच २१ वटा अन्तर्राष्ट्रिय टी-२० खेल भएका छन्। जसमा इङ्ल्यान्डले १२ र न्यूजिल्यान्डले सात खेल जितेका छन्। दुई वटा खेल नतिजाविहीन भएका थिए।
इङ्ल्यान्डको सम्भावित टोली : जोस बट्लर, जोनी बेस्टउ, ड्याभिड मिलान, इयान मोर्गन, लिअम लिभिङस्टोन, मोइन अली, साम बिलिङ/ड्याभिड विली, क्रिस वक्स, क्रिस जोर्डन, अडिल रसिद र मार्क वुड।
न्यूजिल्यान्डको सम्भावित टोली : मार्टिन गुप्टिल, डेरिल मिचेल, क्यान विलियम्सन, डेभोन कनवे, ग्लेन फिलिप्स, जेम्स निसाम, मिचेल सान्टर, एडम मिल्ने, टिम साउथी र ट्रेन बोल्ट।