मिथिलाञ्चलमा छठको उल्लास
मिथिलाञ्चलमा छठको उल्लास छाएको छ। छठको पूजाका लागि यहाँका पोखरी झकिझकाउ पारिएका छन्।
जनकपुर सहित मिथिलाञ्चलको पोखरीका घाट छठ पूजन सामग्रीले सजिएका छन्। सबै छठ घाटमा छठ गीत गुञ्जिएका छन्।
जनकपुरका रामायणकालीन महत्त्व बोकेका पोखरीलाई सजाइएको छ। जनकपुरको गङ्गा सागर, धनुषा सागर, अरगजा सर सहितका पोखरी उल्लासमय बनेका छन्।
छठ लोक विधि अनुसारले गरिने भएकाले नै यसलाई लोक आस्थाको महापर्व भनिएको साहित्यकार नित्यानन्द मण्डलको भनाइ छ। अर्कोतर्फ सीताले समेत सूर्य आराधना गरेको जनविश्वास छ।
यसरी मनाइन्छ छठ
मिथिलाञ्चलको पूजा पनि दुई प्रकारको छ। पहिलो वैदिक, जहाँ पण्डितलाई लिएर संस्कृति भाषामा विधि अनुसारले पूजा गरिन्छ।
अर्को लौकिक, जसमा पण्डितको आवश्यकता नपर्ने, परापूर्वकालदेखि नै लोक आस्था र नियमपूर्वक मनाउने गरिन्छ।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रत बस्ने गरिन्छ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि छठ पर्वको समापन गरिन्छ।