सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा नयाँ प्रदेश प्रमुख नियुक्त
सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्।
सरकारको सिफारिशमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। सुदूरपश्चिममा बाजुराका देवराज जोशी, कर्णालीमा बाँकेका तिलक परियार र प्रदेश १ मा तेह्रथुमका परशुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गरिएको हो।
नेपाली कांग्रेसबाट जोशी, नेकपा (माओवादी केन्द्र)बाट परियार र जनता समाजवादी पार्टीबाट खापुङ प्रदेश प्रमुख बनेका हुन्। जोशी संविधानसभा सदस्य हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिश गरेको थियो। त्यस्तै, सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले यसअघिका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।
प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका छन्। उनीहरूलाई पदमुक्त गरिएको हो। तीनै जना केपी शर्मा ओली नेतृत्व सरकारको पालामा प्रदेश प्रमुख नियुक्त भएका थिए।