तीन प्रदेशका प्रमुख फेरिए, परियार, खापुङ र जोशी सिफारिश
सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखका लागि सिफारिश गरेको छ। सरकारले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जनता समाजवादीबाट खापुङ, नेकपा (माओवादी केन्द्र)बाट परियार र नेपाली कांग्रेसबाट जोशी प्रदेश प्रमुखका लागि सिफारिश भएका हुन्।
यसअघि कर्णालीमा गोविन्दप्रसाद कलौनी, प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए। उनीहरूलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिश गरिएको हो।