हिउँ र पहिरो छिचोल्दै तिलिचो
तिलिचो जानेहरू बिहान ३ बजे नै हिंड्न शुरू गर्दा रहेछन्। ढिलो पुग्दा वेगले चल्ने चिसो हावामा तालवरपर समय बिताउन गाह्रो पर्ने भएकाले सबैको कोशिश बिहानै पुग्ने हुँदो रहेछ।
घुम्न जानेका आ-आफ्नै योजना हुन्छन्। म भने यस पटक अमेरिकामा बसोबास गरिरहेका तीन भाइ दीपक, दिनेश बस्ताकोटी र विवेक बुढाथोकीले उतैबाट बनाएको तिलिचो-थोराङ्ला ट्रेकिङको १२ दिने योजनामा सामेल भएँ।
पहिलो दिन : काठमाडौंबाट बिहान ५ बजे फोरह्विल गाडीमा बेंसीशहर हुँदै मनाङ सदरमुकाम चामेको यात्रा शुरू भयो। तनहुँको डुम्रेबजारबाट उत्तर लाग्ने बित्तिकै पहेंलिन खोजेका धानका बाला र मनमोहक हरियालीले लमजुङभरिको यात्रा रमणीय बन्यो।
बेंसीशहरबाट उत्तर लागे लगत्तै शुरू भएको साँघुरो र बिग्रेको बाटो, ठाउँ-ठाउँको पहिरो त छँदै थियो, काठको पुलमाथिबाट गाडी कुदाउँदा मनमा पसेको चिसो सुइरो निस्कन नपाउँदै पार गर्नुपर्ने त्यस्तै अर्काे धराप जस्तो पुलले झस्काइहाल्थ्यो।
भुलभुले, घेर्मु, ताल, धारापानी हुँदै चामे पुग्न मर्स्याङ्दीको डिलैडिल पहाड कोपेर बनाएको ६६ किलोमिटरको सडकमा मोटरयात्रा भने डरलाग्दो नै हुन्छ। ठाउँ-ठाउँमा भेटिने झरनाले केही बेर मन प्रफुल्ल बनाए पनि डिलैमुनि सुसाइरहेको मर्स्याङ्दी नदीले ध्यान त्यतै तानिरहेको हुन्थ्यो।
दोस्रो दिन : पश्चिमी वायुका कारण १ कात्तिकमा देशैभर झरी परिरहेको थियो। त्यही दिन पिसाङ पुग्नु थियो। वर्षादीले जिउ ढाक्दै नेपाली सेनाले पहरामा ग्रिनेड पड्काएर बनाएको मोटरबाटोको ट्र्याकमा ५ घण्टाको हिंडाइपछि पिसाङ पुगियो। मनाङको खाङ्सारसम्मै गाडीको बाटो बने पनि गाडी यात्रा गर्नुभन्दा पैदलयात्रा नै सुरक्षित ठान्याैं।
यद्यपि सामान र मानिस ओसार्न त्यस सडकमा स्थानीयले फोरह्विल (सुमो र स्कोरपियो लगायत) गाडी चलाउँदा रहेछन्। यसपालिको वर्षाले ठाउँ-ठाउँमा बाटो पुरिंदा र भत्किंदा सोझै गाडी नचले पनि बिग्रिएको ठाउँ पछि सम्याएर चलाउनेहरू भने देखिन्थे।
हिंड्न अल्छी गर्ने र गाह्रो हुनेहरू त्यस्ता गाडीबाट आफ्नो यात्रा छोट्याउँथे। मोटरसाइकल कुदाउनेहरू पनि प्रशस्तै भेटिए। यसरी आउने युवा जमात खाङ्सारको एक वास अनि तिलिचो आधारशिविरको अर्काे वासपछि तेस्रो दिन तिलिचोसम्म पुग्छन्।
तेस्रो दिन : पानी परिरहेकै थियो, वर्षादी ओढेर बिहानै माथिल्लो पिसाङबाट तल्लो पिसाङ झरी मोटर बाटैबाटो मनाङको यात्रा शुरू भयो। मौसम खुलेको भए माथिल्लो पिसाङबाट पैदल ट्रेल घ्यारु हुँदै मनाङ पुग्नुको मज्जै अर्कै हुने थियो। तथापि ३ घण्टाभन्दा बढी समय लागे पनि त्यो बाटोबाट देखिने हिमाल र पहाडको मनमोहक दृश्यले समय कटेको पत्तै नहुने रहेछ।
बाटोमै पर्ने मनाङ डिस्याङ गाउँपालिका-१, भ्राताङमा नेकपा (एमाले) मनाङका नेता पोल्देन छोपाङ गुरुङको एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्ने मौका मिल्यो। ७३५ रोपनीमा गरिएको स्याउ खेती नेपालकै ठूलो मानिन्छ। गामा, गोल्डेन, फुजी जातका स्याउ त्यहाँ पुग्ने जोकोहीलाई विना पैसा ‘चाख्न’ दिने चलन रहेछ। हिंडाइले लखतरान परेका प्रायः यात्रुले स्याउ नचाख्ने कुरै थिएन।
स्याउबाट जुस, ड्राई एप्पल, वाइन, ब्रान्डी र जाम उत्पादन गरी बजार पठाउने गरिएको छ। फार्ममा कार्यरत एक कर्मचारीका अनुसार, इटाली र सर्बियाबाट ल्याइएका बिरुवाबाट एकै बोटमा करीब ३०-३५ केजीसम्म स्याउ फल्ने गरेको छ।
त्यसपछि हुम्दे, ढिकुरपोखरी, मुग्जी हुँदै अपराह्न ४ बजे मनाङ पुगियो। त्यहाँ एक दिनअघि यात्रा तय गरेका दुई साथी विनय र कृष्ण गुरागाईंसँग यात्रा अनुभव साटासाट भयो। उनीहरू ‘आइटीनरी’ मै यात्रा अघि बढाउन भोलिपल्ट बिहानै तिलिचो आधारशिविर लागे भने हामी ‘अल्टिच्युड एक्लाइमेटाइजेसन’ का लागि थप एक दिन मनाङ (३५४० मिटर)मै बस्यौं।
चौथो दिन : मनाङ बसाइका क्रममा ४६०० मिटरमा रहेको आइसलेकसम्म दुईतर्फी ७-८ घण्टा हिंड्न नरुचाउनेहरू मनाङ बजारको दक्षिणपट्टि ३९५० मिटर उचाइमा अवस्थित पाक्रेन गुम्बा चढ्छन्। हामीले पनि त्यही गर्यौं।
पाँचौं दिन : बिहानै मौसम खुलेको थियो। हिमाल देखिन थालेकाले तस्वीर खिच्दै ४१४० मिटर उचाइको श्रीखर्क पुगियो। निरन्तरको झरीपछि घाम लागे पनि हिउँको बाटो तिलिचो तालसम्म पुग्न नसकिरहेको खबर पाइरहँदा श्रीखर्क आइपुगेका साथीहरू विनय र कृष्ण बीच बाटोबाटै फर्कनुपरेकाले निराश देखिन्थे। हाम्रो दुई दिनपछि तालसम्म पुग्ने योजना थियो। तर, गन्तव्य पुग्न पाइने/नपाइने यकिन थिएन।
छैटौं दिन : श्रीखर्कबाट तिलिचो आधारशिविर जान लाग्ने ३ घण्टाको बाटो ‘एडभेन्चर’ हिंडाइ भयो। ठाडो पहाड, साँघुरो गोरेटो, तल मर्स्याङ्दी नदी र माथिबाट खस्ने ढुंगा टाउकोमै लाग्ने हुन् कि भनेर सजग हुँदै छिचोल्नुपर्ने गेग्रान बाटो।
त्यसमाथि खच्चर आइदियो भने परैबाट बाटो छाड्नुपर्ने। धेरैका लागि असहज मानिंदो रहेछ यो बाटो। आधारशिविर पुगेपछि थाहा भयो, दिउँसो १ बजेतिर तालसम्मै यात्रु पुग्न सफल भए। त्यो खबरले खुशी बनायो।
सातौं दिन : तिलिचो ताल जानेहरू बिहान ३ बजे नै हिंड्न शुरू गर्दा रहेछन्। ढिलो पुग्दा वेगले चल्ने चिसो हावामा ताल वरपर समय बिताउन गाह्रो पर्ने भएकाले सबैको कोशिश छिट्टै पुग्नमै हुने रहेछ। हामी बिहान ४ बजे हिंड्यौं। एक घण्टापछि हिउँमाथिको हिंडाइ शुरू भयो।
बिहान ८ः३० बजे तालमा पुगियो। बादल लागेर हिमाल भने छोपिएको थियो। तालको पानी बाहेक सबै भाग हिउँले पुरिएको थियो। तिलिचो पुग्दा भाइ विवेकको प्रतिक्रिया थियो- “दाइ, हेलिकोप्टरमा अलास्का यात्रा गरेको थिएँ, हिउँले पुरिएको ‘ल्यान्डस्केप’ हेर्दा म त त्यहीं पुगे जस्तो लाग्यो।”
हामी भाग्यमानी भएछौं किनकि हिउँ नपर्दा तालसम्मकै बाटोमा सुक्खा, गेग्रान र उराठलाग्दो भीर मात्र देखिने रहेछ। तिलिचोमा रमायाैं। जति रमाइलाे भए पनि त्यहीं बसिरहन कहाँ सकिन्छ र!
फर्किने क्रममा हिउँ पग्लेर धेरैलाई गाह्रो बनाएको थियो। नेपालीहरू कतिसम्म ज्याद्रा भने टेनिस जुत्ता लगाएर ‘क्रयाम्पन्स’ र ‘स्टिक’ बिना नै तिलिचो चढ्दै गरेको पनि देखियो। पग्लेको हिउँमा हिंड्न गाह्रो हुँदा उनीहरू हिउँमाथि ‘सुरेली’ खेल्दै तल झरे। त्यस दिन हामी श्रीखर्कमा बास बस्यौं।
आठौं दिन : श्रीखर्कबाट थोराङ्ला फेदीको गन्तव्यमा निस्क्यौं। याक खर्क पुग्न केही समय बाँकी छँदा दुई जना साँघुरो बाटोमा बेजोडले साइकल हुइँक्याउँदै गए। यस्तो बाटोमा साइकलको तीव्र गति! हामी कुरा गर्दै थियौं, ६-७ जनाले एउटालाई बोकेर ल्याइरहेको देख्यौं। हाई अल्टिच्युडको असरले इन्तु र चिन्तु अवस्थामा रहेका ती व्यक्तिलाई हामीसँग भएको औषधि ‘डेक्सामेथासोन’ खुवाउने कोशिश गर्यौं, तर पानी पनि निल्न सकेनन्। सँगैको साथीलाई थप औषधि दियौं।
उनलाई घ्याङच्याङ (हेलिकोप्टर ल्यान्ड गर्ने समथर जमीन भएको स्थान)सम्म पुर्याउन थप मानवीय बलको आवश्यकता भएकाले भाइ दीपक अनि गाइड प्रकाश सहयोगका लागि सँगै हिंडे। पछि थाहा भयो, उनलाई हेलिकोप्टरबाट पोखरा लगिएछ। उचाइ चढ्नुअघि खाने एस्टाजोलामाइड र लेक लागेपछि आपत्कालीन सेवन गर्ने ‘डेक्सामेथासोन’ बोकेका थियाैं।
सामान्यतः ‘हाइअल्टिच्युड’ को असर देखिएपछि सकेसम्म कम ‘अल्टिच्युड’ तिर दौडाउनु नै पहिलो उपचार हो। पहिलो दिन नै त्यसो गरेको भए मनाङ (३५४० मिटर) पुग्थे। उनले त्यसाे गरेनन् र दुई दिनसम्म हाइक्याम्प (४९२५ मिटर) मै बिताएछन्। वर्षाैंवर्ष यही पेशामा लागेका पर्यटन/होटल व्यवसायीले त्यति जानकारी समेत नदिनु अचम्म लाग्यो।
फेदी पुग्न आधा घण्टाको बाटोदेखि हिउँ-वर्षा शुरू भइसकेको थियो। बिहान ९ बजेसम्म बसेको टी-हाउस बाहिर एक-डेढ फिटको हिउँ जम्मा भइसकेको थियो। आकाश पूरै कालो। बिहानै थोराङ्लाका लागि निस्कनुपर्ने हामी लगायत त्यही टी-हाउसमा बसेका अन्य १०-१२ जना तनावमा थियौं। मौसम राम्रो देखिए मात्र यात्रामा निस्कने नत्र थप केही दिन त्यहीं बस्ने सल्लाह भयो।
नवौं दिन : राति १ः३० बजे निद्रा खुल्ने बित्तिकै पर्दा खोलेर बाहिर हेरें। आकाश पूरै नीलो र तारा चम्किरहेका थिए। खुशीको सीमा नै रहेन। मौसमले साथ दिए बिहान ४ बजे बाटो तय गर्ने सल्लाह भए पनि त्यसपछि निद्रा लागेन।
फेदीबाट २०-२५ जनाको टोली बिहान ४ बजे नै थोराङ्लाका लागि निस्क्यो। फेदीबाट हाइक्याम्पसम्मको ८०० मिटरको बाटो ठाडै उकालो थियो। हिउँकै बाटो एक घण्टामा हाइक्याम्प पुग्यौं। त्यहाँ बस्नेहरू हामीसँगै यात्रामा थपिए। आधा गन्तव्यपछि घाम झुल्कियो। चिसिएको जिउमा तातो अनुभव हुन थाल्यो। वरिपरि ३६० डिग्रीमा हिउँ नै हिउँ थियो। पश्चिमपट्टि धौलागिरि र दक्षिणपट्टि अन्नपूर्ण श्रृंखला।
करीब बिहान ९ बजे ५४१६ मिटर अग्लो थोराङ्ला पुग्यौं। असाध्यै खुशी लाग्यो। रमाउँदै तस्वीर खिच्याैं। चिसो हावाको झोंकामा आधा घण्टा जति बिताएपछि मुक्तिनाथका लागि ओरालो बाटो तय गर्यौं।
पूर्वनिर्धारित ‘आइटिनरी’ अनुसार, हामीले एक दिनअघि नै गन्तव्य पूरा गर्यौं। जुन एक दिन मुक्तिनाथ बसाइमा खर्चियौं। एघारौं दिन अर्थात् १० कात्तिकमा जोमसोमबाट पोखरा र ११ कात्तिकमा काठमाडौं फर्कियौं।
पर्यटन र सुरक्षा
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यस क्षेत्रमा पैदल यात्रीका लागि अत्यावश्यक कुरामा समेत ध्यान दिएको पाइएन। तिलिचोतर्फको यात्रामा श्रीखर्कपछि नै टेलिफोन, इन्टरनेटको सम्पर्क बाहिर पुग्नुपर्ने बाध्यता छ भने थोराङ्ला जानेहरू मनाङ छोडेको केही घण्टापछि नै सञ्चारबाट वञ्चित हुने गर्छन्।
मनाङपछि ‘हेल्थ डेस्क’ कहीं छैन। ‘हाइअल्टिच्युड’ बारे जानकारी कतै राखिएको छैन। इन्टरनेटको त कुरै नगरौं, आकस्मिक सेवाका लागि टेलिफोनको व्यवस्था समेत छैन। दुर्घटनामा परेका या लेक लागेका बिरामीलाई हेलिकोप्टर सेवा लिनका लागि समेत घण्टौं लगाएर टेलिफोन सम्पर्क भएको ठाउँ खोज्दै हिंड्नुपर्ने बाध्यता छ। जबकि, लोन्ली प्लानेटको सूचीमा समेत अन्नपूर्ण संरक्षण क्षेत्र संसारकै घुम्नुपर्ने स्थानमध्ये एक भनेर उल्लेख छ।
गेग्रानले बनेको पहाडका कारण गइरहने पहिरोले बाटो अवरुद्ध हुने गर्छ। त्यस्तो बाटोको जानकारी नहुँदा पर्यटकले दुःख भोग्नुपरिरहेको छ।
हाम्रै यात्राका क्रममा श्रीखर्कबाट तिचिलो आधारशिविर जाने बाटो माथिल्लो श्रीखर्कपछिको पाँच मिनेटमा आउने खोल्साको पुलको दायाँ-बायाँ पहिरोले बाटो अवरुद्ध बनाएको थियो। त्यसको वैकल्पिक बाटो तय गर्दा ४५ मिनेट थप समय लाग्थ्यो। तर, धेरैजसो सोही खतरापूर्ण ठाउँबाटै हिंडिरहेका देख्यौं।
बाटो भत्किएको जानकारी न जाने ठाउँमा थियो न त फर्कने ठाउँमा। चालकको सानो गल्तीले सोझै २०० मिटरभन्दा तल खस्न सक्ने जोखिम थियो।
निजी क्षेत्रको नाफामुखी मनोवृत्ति
एक लिटर तातो पानीको रु.५०० लिने तिलिचो आधारशिविर र थोराङ्ला फेदीका होटलहरूको दैनिक व्यापार सिजनमा लाखौं हुने गर्थ्यो। तर, कोरोनाभाइरसको महामारीले व्यवसाय शिथिल बनायो। आन्तरिक पर्यटकबाटै सही, टी-हाउसको व्यवसायले गति लिन थालेको छ।
थोराङ्ला फेदीको थोराङ्फेदी टी-हाउसमा सोलारको ब्याकअपबाट डिशहोममा भारत-पाकिस्तानको क्रिकेट म्याच लाइभ हेरिरहेका थिए, तर सुत्ने कोठामा बत्ती र बाथरुमको धारामा पानी थिएन। टेलिफोन र इन्टरनेट हुने कुरै भएन। व्यवसायीहरू मिलेर त्यस ठाउँमा एउटासम्म स्याटेलाइट फोन राख्ने पहल समेत भएको देखिएन।
देशकै सबभन्दा ठूलो र चर्चित संरक्षण क्षेत्रको पदमार्ग जोगाउनुको सट्टा त्यसलाई मासेर मोटरबाटो बनेको छ। यसको विरोध भइरहेकै वेला मुस्ताङतर्फ पनि मुक्तिनाथदेखि थोराङ्ला जाने मोटरबाटो बन्न थालेको रहेछ। पदमार्ग मास्दै मोटरबाटो बनाउने यो कस्तो खालको सोचले काम गरेको होला? बुझिनसक्नु छ।