प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि पेसी
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो सहित १० इजलासमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि पेसी तोकेका छन्।
मंगलबार सर्वोच्च अदालतले जारी गरेको दैनिक पेसी सूचीमा प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको छ। जसमा सात वटा मुद्दाको पेसी तोकिएको छ।
अन्य न्यायाधीशको भने संयुक्त इजलास तोकेका छन्। उनीहरूको इजलासमा पनि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि पेसी चढाइएको छ।
सर्वोच्चका न्यायाधीश र नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबरालाई आफ्ना लागि पेसी नतोक्न माग गर्दै आएका थिए। त्यस्तै, बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि पेसी नतोक्न उनीहरूको माग छ।
त्यसै अनुसार सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्रै पेसी तोकिएको थियो। यसअघि इजलास बहिष्कार गर्दै आएका न्यायाधीशले पनि सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ गरेका थिए।
आज भने प्रधानन्यायाधीश जबराले अन्य मुद्दाको पनि पेसी तोकेका छन्। उनले आज २९८ मुद्दाको पेसी तोकेको सर्वोच्च अदालतले जनाएको छ।