सत्तारूढ गठबन्धनले बनायो देउवा बाहेकको उच्चस्तरीय राजनीतिक समन्वय समिति
सत्तारूढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकको उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारूढ गठबन्धनको बैठकले ११ सदस्यीय उच्चस्तरीय समिति बनाउने निर्णय गरेको हो। सरकार सञ्चालनमा सहयोग गर्न उच्चस्तरीय समन्वय समिति गठन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उच्चस्तरीय समितिमा पाँचै दलबाट दुई-दुई जना सदस्य रहेका छन्। सरकारका तर्फबाट मन्त्री कार्की पनि सदस्य छन्।
यो समितिमा प्रधानमन्त्री देउवा बाहेकका शीर्ष नेता रहेका छन्। पाँचै दलका नेताले दुई-दुई महीना समितिको संयोजन गर्ने सहमति बनेको छ।
शुरूआतका दुई महीना कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समितिको संयोजन गर्ने मन्त्री कार्कीले जानकारी दिए।
समितिमा कांग्रेसबाट पौडेल र कृष्ण सिटौला, नेकपा (माओवादी केन्द्र)बाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)बाट माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन्।
एकीकृत समाजवादी र जसपाबाट एक–एक सदस्यको नाम पठाउन बाँकी रहेको मन्त्री कार्कीले बताए।