एमाले छाडेका नेतालाई जमानत जोगाउन ओलीको चुनौती
नेकपा (एमाले) छाडेर गएका नेताहरूलाई आगामी चुनावमा जमानत जोगाउन अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएका छन्।
विराटनगरमा सोमबार आयोजित छठ, इद तथा उँधौली उँभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले छाडेर गएका नेताहरूको जमानत जफत हुने दाबी गरे। नयाँ पार्टीमा गएका नेताहरूलाई चुनौती दिंदै ओलीले भने, “एमालेले टाँसिदिएको जुँगामा ताउ लगाउँदै छन्। एमाले कोशी नदी हो, बाढी आउँछ र फोहोरलाई किनारा लगाउँछ।”
एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ। एकीकृत समाजवादीमा गएका नेताहरूले आगामी निर्वाचनमा समानत जोगाउन नसक्ने उनको भनाइ थियो।
ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरे। सबैभन्दा ठूलो दल त्यागेर कांग्रेस सभापति शेरबहादुर देउवाको पछि लागेको ओलीको भनाइ थियो। “एमालेमा हुँदा पनि आफैं माला लगाएछन्, अध्यक्ष भएँ भन्दै। अहिले अध्यक्ष हुन पार्टी खोलेका छन्, पार्टी भोगटे जत्रो होस् वा कागती जत्रो, उनलाई अध्यक्ष चाहियो,” ओलीले कटाक्ष गरे।
उनले सर्वोच्च अदालतको फैसलाको पनि आलोचना गरे। सर्वोच्चले संविधान बाहिर गएर फैसला गरेको उनको आरोप थियो। “सर्वोच्चले असंवैधानिक काम गरे पनि हामीले मान्यौं। तर, कसलाई मन्त्री, राजदूत बनाउने सेटिङ रहेछ, के के लेनदेन छ, अझै खुल्न बाँकी छ,” ओलीले भने।