पाँच हजार स्वाब परीक्षण गर्दा ३९० जनामा कोरोना
देशभर स्वाब परीक्षण बढेसँगै कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पनि केही बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबार देशभर पाँच हजार २६ जनाको स्वाब परीक्षण गर्दा ३९० जनामा कोरोना सङ्क्रमण देखिएको छ। जसमध्ये दुई हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ जनामा र दुई हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो।
आइतबार दुई हजार ३३३ जनाको स्वाब परीक्षण गर्दा १४३ जनामा कोरोना देखिएको थियो।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४५३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, देशभर ४२५ जना सङ्क्रमित निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या सात लाख ९५ हजार ८२२ पुगेको छ। अझै पनि सात हजार ६५४ जना सक्रिय सङ्क्रमित छन्।
पछिल्लो केही दिनयता खोप लगाउनेको सङ्ख्या भने घटेको छ। पछिल्लो २४ घण्टामा एक हजार ९१७ जनालाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।