मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत परेको छ। यो प्रदेश सभामा कायम सदस्य सङ्ख्याको बहुमत भएकाले विश्वासको मत प्राप्त भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरेका छन्।
बागमती प्रदेश सभामा अहिले १०९ सदस्य छन्। विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२ र नेकपा (एकीकृत समाजवादी)का १३ र जनता समाजवादी पार्टीका एक सांसदले मत दिएका हुन्।
त्यस्तै, विश्वासको मतको प्रस्तावको विपक्षमा ४३ मत परेको छ। नेकपा (एमाले) र विवेकशील साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका हुन्।
त्यस्तै, दुई जना सांसद तटस्थ बसेका छन्। प्रदेश सभाकाे बैठकमा १०४ जना सांसद उपस्थित थिए।