बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिंदै, यस्तो छ समीकरण
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्।
संविधानको धारा १६८ को उपधारा (२) मा मिलिजुली सरकारको व्यवस्था गरेको छ। मिलिजुली बनेको सरकारका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता पाण्डे ११ कात्तिकमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री बनेका थिए। त्यसैले, संवैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत लिने भएका हुन्।
उनले विश्वासको मत लिने प्रयोजनका लागि एक साताअघि नै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए। उनको पत्रको आधारमा विश्वासको मत विभाजनका लागि सबै तयारी पूरा गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए।
विश्वासको मत लिने प्रयोजनका लागि नै आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनाल शर्माले पनि आज मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेको बताए।
बागमती प्रदेश सभामा अहिले १०९ सांसद छन्। विश्वासको मतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ।
अहिले प्रदेश सभामा नेकपा (एमाले)का ४३, माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई-दुई सांसद छन्।
मुख्यमन्त्री पाण्डेको समर्थनमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीका गरी ५८ सांसद छन्।