भारत एक खेल बाँकी छँदै टी-२० विश्वकपबाट बाहिरियो, न्यूजिल्यान्ड सेमिफाइनलमा
आईसीसी टी-२० विश्वकप अन्तर्गत आज भएको खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत एक खेल बाँकी छँदै बाहिरिएको छ।
आइतबार साँझ अबुधावीमा भएको खेलमा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड समूह-२ बाट सेमिफाइनलमा प्रवेश गरेको हो। अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्यूजिल्यान्डले १८.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
न्यूजिल्यान्डका लागि केन विलियम्सनले ४०, डेभन कम्भेईले ३६, मार्टिन गुप्टिलले २८ र ड्यारिल मिचेलले १७ रन बनाए। अफगानिस्तानका लागि मुजीब रहमान र रसिद खानले एक-एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले आठ विकेटको क्षतिमा १२४ रन बनाएको थियो। अफगानिस्तानका लागि नजिबुल्लाह जाड्रनले ७३, गुलाबुद्दिन नैबले १५ र मोहम्मद नबीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
यो हारसँगै अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। पाँच खेलमा दुई जित र तीन हार बेहोर्दै उसले चार अङ्क मात्रै जोडेको छ। अफगानिस्तानसँगै भारतको पनि सेमिफाइनल पुग्ने बाटो बन्द भएको छ।
समूह-२ बाट पाकिस्तान र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेका छन्। न्यूजिल्यान्डले पाँच खेलमा चार जित र एक हार व्यहोर्दै आठ अङ्क जोडेको छ भने पाकिस्तानले एक खेल बाँकी छँदै आठ अङ्क जोडेको छ।
यही समूहमा रहेको भारतले आफ्नो अन्तिम खेल सोमबार नामिबियासँग खेल्नेछ। त्यो खेल जिते पनि भारतको ६ अङ्क मात्रै हुनेछ।
यस्तै, समूह-१ बाट इङ्ल्यान्ड र अस्ट्रेलियाले सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। आज राति हुने पाकिस्तान र स्कटल्यान्डको खेलले सेमिफाइनलका प्रतिस्पर्धी तय गर्नेछ।