यूएन अवार्ड विजेता मल्ल भन्छिन्- छोरी मान्छेले गर्न नसक्ने कुनै काम नै हुँदैन
शान्ति सेनामा कार्यरत नेपालकी प्रहरी उपरीक्षक (एसपी) संज्ञा मल्ललाई ११औं राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ। उनलाई २३ कात्तिकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ।
एसपी मल्ल प्रजातान्त्रिक गणतन्त्र कङ्गोस्थित शान्ति सेनामा स्वास्थ्य तथा वातावरण एकाइ प्रमुख हुन्। उनले कङ्गोको राजधानी किन्सासामा यो एकाइ स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। भाइटीकाका लागि नेपाल आएकी एसपी मल्लसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानीः
संयुक्त राष्ट्रसंघले तपाईंलाई ‘राष्ट्रसंघीय महिला प्रहरी अधिकृतको पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ। कस्तो लागेको छ?
मेरो कामले कङ्गो मिसन र नेपालको प्रशंसा हुँदा खुशी लागेको छ। यसलाई सफलता मानेकी छु। अर्को, नेपाल जस्तो लैङ्गिक विभेद भएको ठाउँमा ‘छोरी मान्छे पनि शान्ति सेनामा विश्वभरबाट छनोट भएर पुरस्कार पाउँदी रहिछ’ भन्ने सन्देश दिन पाउँदा खुशी छु।
अहिलेसम्म वातावरण जोगाउने मिसनमा काम गरें। अझै कङ्गोमा गर्नुपर्ने धेरै कार्यक्रम छन्। पूर्वी क्षेत्रमा विद्युत्को पहुँच छैन। त्यहाँ वातावरणमैत्री सोलारको कसरी विकास र पहुँच पुर्याउने भन्ने अर्को मिसन पनि छ। यसमा काम गर्छु।
अर्को, विशेष यसभित्र पनि कुन क्षेत्रमा र कसरी काम गर्ने भन्ने रणनीति बनाउँदै छु। यो मेरो ‘ड्रिम प्रोजेक्ट’ हो। यो पुरस्कारले त्यो प्रोजेक्टमा काम गर्न हौसला बढाएको छ।
यहाँसम्म कसरी पुग्नुभयो?
सन् २००८ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेकी हुँ। त्यसपछि एसपी हुन १३ वर्ष लाग्यो।
सन् २०१८ डिसेम्बरमा शान्ति सेनामा जान नेपाल प्रहरीले आन्तरिक परीक्षा लिएको थियो। त्यो परीक्षामा उत्तीर्ण भएँ।
राष्ट्रसंघले महिलालाई सशक्त बनाउन हरेकबाट ३० प्रतिशत महिला हुनैपर्छ भनेको छ। तर, नेपालबाट त्यो सङ्ख्या नपुगेपछि महिलाका लागि छुट्टै परीक्षा लिएको थियो। त्यसमा र पछि राष्ट्रसंघले लिएको अर्को परीक्षा पनि उत्तीर्ण गरें। त्यसका लागि १४ जना महिलामध्ये तीन जनामा छनोट भएँ।
कोभिड-१९ र इबोलासँग जुध्दै काम गर्नुपर्ने थियो। समुदायमा सचेतना फैलाउने काम गर्यौं। यही समयमा गोला भन्ने ठाउँमा ठूलो ज्वालामुखी विस्फोट भयो। त्यसमा पनि हाम्रो एकाइले स्थानीय बासिन्दाको हौसला बढाउन र सुरक्षा दिने काम गर्यो।
यसरी कङ्गो पुग्दा कोरोनाभाइरसको महामारी थियो। यस्तो वेला हाम्रो प्राथमिकता कोराना फैलिनबाट कसरी बचाउने भन्ने थियो। त्यसमा पनि पहिला प्रयास महिला र बालबालिकालाई कसरी जोगाउने भन्ने भयो। म अर्थोडेन्टिस्ट हुँ। मेडिकल पृष्ठभूमि भएपछि वातावरणको एकाइ सम्हाल्ने जिम्मेवारी मिल्यो।
त्यो वेला कोभिड-१९ र इबोलासँग जुध्दै काम गर्नुपर्ने थियो। समुदायमा सचेतना फैलाउने काम गर्यौं। यही समयमा गोला भन्ने ठाउँमा ठूलो ज्वालामुखी विस्फोट भयो। त्यसमा पनि हाम्रो एकाइले स्थानीय बासिन्दाको हौसला बढाउन र सुरक्षा दिने काम गर्यो।
त्यसपछि पर्यावरण संरक्षण सम्बन्धी ३०० भन्दा बढी जागरुकता सत्रहरू सञ्चालन गरें। साथै, कोरोना र इबोलाले कङ्गोलाई पनि आक्रान्त पारेकाले खोप लगाउन स्थानीय बासिन्दालाई सूचना दिने र विश्वस्त पार्ने काम गर्यौं। समुदायलाई नै सचेत गर्यौं। यिनै कामको परिणाम हुनसक्छ, सन् २०२१ को राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कारका लागि मलाई योग्य ठानियो।
यो मिसनमा तपाईंको कार्यक्षेत्र कति चुनौतीपूर्ण छ?
आफ्नो देश छाडेर अर्को द्वन्द्व भइरहेको देशमा शान्ति स्थापना गर्न जानु नै चुनौतीपूर्ण छ। त्यो सँगसँगै कोरोनाबाट धेरै प्रहरी सङ्क्रमित भएकाले पनि काम गर्न सजिलो थिएन। कोराना सङ्क्रमण कसरी कम गर्ने भनेर रणनीति बनाउँदा, कोरोनासँग जुध्दा, मानिसलाई जोगाउँदैमा समय बित्यो।
त्यसका लागि आफैंले निर्देशिका पनि बनायौं। त्यो सफल पनि भयो। अब फेरि जाँदै गरेको पूर्वी कङ्गो क्षेत्र हिंसात्मक घटना बढी हुने ठाउँ छ। हामीले त वातावरण संरक्षण लगायतको विषयमा मिसन राखे पनि त्यहाँ कुनै घटना होला कि भन्ने डर त सधैं नै रहन्छ।
तपाईंहरूले गरेको कामले कस्तो प्रभाव पर्छ?
हामी त सबै आ-आफ्नै मिसनमा गएका थियौं। हाम्रो एकाइले कोरोनाबाट बचाउने काम गर्यो। त्यससँगै वातावरणको क्षेत्रमा काम गर्यौं। एमेजोन पनि सबैभन्दा ठूलो ‘रेनफरेस्ट’ कङ्गोकै हो।
त्यससँगै सबैभन्दा धेरै वन विनाश पनि यहीं भएको छ। त्यसले गर्दा वातावरणमा धेरै नै प्रभाव परेको छ। कङ्गोमा खनिज पदार्थको स्रोत पनि धेरै छ। जसले गर्दा यहाँ धेरै द्वन्द्व भएका छन्। त्यसैले वन संरक्षण गर्न, वन्यजन्तु जोगाउन, खनिज पदार्थका स्रोत जोगाउन हामीले चेतनाको बिगुल फुक्ने काम गरेका छौं।
अहिले पनि मलाई धेरै मान्छे भन्छन्- तिमीले गरिरहेको काम छोरा मान्छेले गर्ने काम हो, छोरीले गर्न सक्दैनन्। उनीहरूले छोरी मान्छेले गर्न सक्ने काम भनेर अरू-अरू नै बताउँछन्।
वनजङ्गल कसरी जोगाउने भन्ने रणनीति बनाएका थियौं। त्यही अनुसार, काम गर्दै आएका छौं। यसले केही सकारात्मक छाप छोडेको छ।
यो कङ्गोका लागि मात्र काम गरेको देखिए पनि यसको प्रभाव विश्व वातावरणमा पनि पर्छ नै। हाम्रो कामले वातावरण जोगाउन केही न केही त सहयोग गरेकै हुन्छ।
सुरक्षा निकायमा महिलाभन्दा पुरुषकै बाहुल्य छ। तपाईंको सक्रियताले महिलाले पनि राम्रो गर्न सक्छन् भन्ने सन्देश दिएको छ। यसमा तपाईंको विचार के छ?
अहिले पनि मलाई धेरै मान्छे भन्छन्- तिमीले गरिरहेको काम छोरा मान्छेले गर्ने काम हो, छोरीले गर्न सक्दैनन्। उनीहरूले छोरी मान्छेले गर्न सक्ने काम भनेर अरू-अरू नै बताउँछन्।
यसरी कुन काम कसले गर्ने भनेर छुट्याउने उनीहरू को हुन् र? यस्तो कुरा हामीले सुन्नै हुँदैन। यस्ता विषयलाई लिएर आफैंलाई प्रश्न गर्नु हुँदैन। बरु आफूलाई सोध्नुपर्यो- मलाई कमजोर बनाउने मसँग के कुराको कमी छ र? कमजोरी छ भने त्यसको आधारमा सुधार्ने हो। मलाई सबैलाई भन्न मन छ- छोरा र छोरी असमानताको आधार होइन।
अझ प्रहरी र सेनामा छोरीको सङ्ख्या बढ्नुपर्छ। अहिले बिस्तारै बढ्दै पनि गएको छ। यस क्षेत्रमा महिलाको सक्रियताले त झनै ठूलो प्रभाव पार्छ। शान्ति सेनामा महिला जाँदा महिलाले नसक्ने केही रहेनछ भन्ने पनि सन्देश जान्छ। बस् यति हो, छोरी मान्छेले पनि छोरा मान्छेसँग तुलना गर्नुभन्दा पनि आफैंसँग तुलना गर्ने हो। आफ्नो कामलाई निखार्ने हो। त्यसपछि असफल हुने कुनै परिस्थिति आउँदै आउँदैन।
यति धेरै देशमध्ये नेपालबाट संयुक्त राष्ट्रसंघको सन् २०२१ को राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार पाउँदा पनि बुझ्नुपर्छ, कामले लिङ्ग छुट्याउँदैन, योग्यता खोज्छ। लैङ्गिकताका आधारमा कामको विभाजन गरिनु हुँदैन। छोरी मान्छेले गर्न नसक्ने कुनै काम नै हुँदैन।
शान्ति सेनामा काम गर्दाको अनुभव कस्तो छ?
शान्ति सेनामा विभिन्न देशका प्रहरी जान्छन। त्यहीं काम गर्ने क्रममा कोभिड-१९ को पनि पहिलो, दोस्रो र तेस्रो लहर आयो। कति शान्ति सेनामा आएका साथीको पनि ज्यान गयो। हामी खटिने ठाउँहरूमा धेरै सुविधा पनि छैन। त्यस्तो वेला हाम्रो एकाइले अरू कसैले नगरेको काम गर्यो। त्यो हो, बिरामीको ट्र्याक गर्ने। कुन बिरामीको अवस्था कहाँ कस्तो छ भन्ने जानकारी लिने। यो रणनीति धेरै सफल पनि भयो।
एक जना आफ्नै क्षेत्रको साथीको स्वास्थ्य जटिल बनेको रहेछ। यही माध्यमबाट थाहा पाएपछि तुरुन्तै अस्पताल पुर्याउन निर्देशन दिएँ। उनलाई समयमा अस्पताल पुर्याउन सक्दा ज्यान जोगियो। त्यसपछिका हरेक दिनमा उनले आभार प्रकट गर्दै सन्देश पठाउँदै आएकी छन्।
कसैले देशको सुरक्षा जस्तो विषयमा योग्य सम्झेर जिम्मेवारी दिएको हो भन्ने भावनाले नै चुनौती मोल्न सकिंदो रहेछ। फेरि म व्यक्ति संज्ञा मल्ल होइन, नेपाल प्रहरी हो, देशको प्रतिनिधित्व गरिरहेकी छु भन्ने भावनाले जित्दो रहेछ।
त्यस दिन मलाई महसूस भयो, म यहाँ आएर कहीं कतै सहयोग पुगेको रहेछ। स्वास्थ्य सेवामा पहुँच पुर्याउन केही अर्थपूर्ण योजना र काम गरिएको रहेछ। त्यसले मलाई आफ्नो कामप्रति गर्व महसूस गरायो।
हामीले काम गर्दा प्रत्येक क्षण जोखिम त हुन्छ नै। अब अहिले पनि कङ्गोको पश्चिमबाट पूर्वी क्षेत्रमा जाँदै छाैं। त्यहाँ धेरै द्वन्द्व हुन्छ। त्यहाँ धेरै आक्रमणका घटना हुन्छन्। केही अघि मात्रै इटालियन राजदूतमाथि त्यहीं आक्रमण भएको थियो।
अब त्यो सम्झेर डराउने कुरा त भएन। हामी त शान्ति सेना भएर गएका छौं। कहाँ कस्तो हुन्छ भन्ने पूर्व जानकारी राखेर नै जाने भएकाले मिसन सफल पार्ने ध्येय हुन्छ।
यसरी जोखिम देख्दादेख्दै पनि काम गर्ने साहस केले दिन्छ?
कसैले देशको सुरक्षा जस्तो विषयमा योग्य सम्झेर जिम्मेवारी दिएको हो भन्ने भावनाले नै चुनौती मोल्न सकिंदो रहेछ। फेरि म व्यक्ति संज्ञा मल्ल होइन, नेपाल प्रहरी हो, देशको प्रतिनिधित्व गरिरहेकी छु भन्ने भावनाले जित्दो रहेछ। त्यही भावनाले पनि मिसन सफल बनाउन डटेर मिहिनेत गर्न बल दिन्छ, आँटिलो बनाउँछ।
त्यससँगै विभिन्न सहयोगले पनि साथ दिएको छ। कोही महिलाले राम्रो काम गर्न सक्छिन् भने उनीहरूलाई अझ माथि उठाउनुपर्छ भनेर राष्ट्रसंघका अधिकारीले पनि सहयोग गर्दै आएका छन्। यसमा अन्य तालीमले पनि हौसला बढाउँछ।