नेपाल बारका अधिकांश एकाइ पनि प्रधानन्यायाधीशको विरोधमा
नेपाल बार एसोसिएशनका अधिकांश एकाइ पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा उभिएका छन्।
आइतबार नेपाल बारले भर्चुअल माध्यमबाट मातहतका एकाइसँग गरेको छलफलमा अधिकांश वक्ता प्रधानन्याधीश जबराको विपक्षमा उभिएका हुन्। “धेरै जसो एकाइका प्रतिनिधिले बारले गरेको आन्दोलनमा समर्थन जनाएका छन्, प्रधानन्यायाधीशले राजनीमा दिनुपर्ने बताएका छन्,” बारकी उपाध्यक्ष रक्षा बस्यालले भनिन्।
प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै नेपाल बारले आन्दोलन गर्दै आएको छ। गत सातादेखि हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै आएको बारले थप आन्दोलनका कार्यक्रम तय गर्न देशभरका एकाइसँग छलफल थालेको हो।
आइतबार २५ वटा एकाइसँग छलफल गरेको छ। भर्चुअल माध्यमबाट भएको छलफलमा धारणा राखेका ३० जनामध्ये अधिकांशले नेपाल बारको आन्दोलनलाई समर्थन गरेका छन्।
केही एकाइका प्रतिनिधिले भने प्रधानन्यायाधीशलाई मात्रै हेर्न नहुने तर्क गरेका छन्। “प्रधानन्यायाधीशलाई मात्रै हेरेर हुँदैन, अन्य न्यायाधीशलाई पनि हेर्नुपर्छ,” उनीहरूको भनाइ थियो।
नेपाल बारले सोमबार फेरि थप एकाइका प्रतिनिधिसँग छलफल गर्ने भएको छ। देशभरका ९० वटै एकाइसँग छलफलपछि मात्रै आन्दोलनको कार्यक्रम तय हुने उपाध्यक्ष बस्यालले बताइन्।
अहिले चलिरहेको विरोधको कार्यक्रम भने यथावत् रहने जनाएको छ। सोमबार पनि हातमा कालोपट्टी बाँधेर विरोध जारी राखिने नेपाल बारले जनाएको छ।