कोरोनाबाट नौ जनाको मृत्यु
कोरोनाभाइरसको सङ्क्रमणबाट आज नौ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपचारका क्रममा उनीहरूले ज्यान गुमाएका हुन्। शनिबार एक जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४४८ पुगेको छ।
त्यस्तै, आज दुई हजार ३३३ जनाको स्वाब परीक्षण गर्दा १४३ जनामा सङ्क्रमण देखिएको छ। जसमध्ये एक हजार ९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा र ३५३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ५६३ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या सात लाख ९५ हजार ३९७ पुगेको छ।
त्यस्तै, सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ७१३ रहेको छ। उनीहरूको उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।