मिथिलाञ्चलमा छठका लागि सजाइँदै पोखरी
मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व छठको तयारी शुरू भएको छ। जनकपुरधाम लगायत विभिन्न स्थानमा पोखरी सजाउन थालिएको छ।
जनकपुरको रामायणकालीन पोखरीहरू धनुषा सागर, गंगा सागर, अंगराजसर लगायत पोखरीमा छठ पर्व मनाइने गरिन्छ। त्यसका लागि छठ पूजा समिति तथा स्थानीय युवा क्लबले पोखरी सजाउन थालेका हुन्। ग्रामीण क्षेत्रमा भएका पोखरी, नदी तथा सरोवरको सरसफाइ तथा सौन्दर्यीकरण शुरू भएको छ।
गंगा सागर छठ पूजा समितिले गंगा सागरको डिलमा छठका लागि घाट निर्माण गरिरहेको छ। पोखरीको चारैतिर करीब चार हजार भक्तजनले एकसाथ छठ पर्व मनाउन सक्ने गरी तयारी भइरहेको समितिले जनाएको छ। सबै जातजाति एकै ठाउँमा बसेर छठ मनाउने गर्छन्।
यो पर्व चार दिनसम्म मनाइन्छ। सोमबार ‘नहाय खाए’ विधिबाट छठको शुरूआत हुन्छ। पहिलो दिन ‘नहाय-खाए’ गरिन्छ भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिने प्रचलन रहेको छ।
अहिले तराई-मधेशसँगै देशभर छठ पर्व मनाउन थालिएको छ। यद्यपि, जनकपुरधामको छठ पर्व प्रसिद्ध छ।
छठ पर्व घरेलु उत्पादनमा निर्भर हुन्छ। आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामल लगायत अन्नलाई धोई पखाली जाँतोमा पिसेर पीठोबाट छठका सामग्री बनाउने गरिन्छ। छठमा चढाइने वस्तुको शुद्धताले नै यस पर्वलाई अन्यभन्दा फरक तुल्याएको संस्कृतिविद् नित्यानन्द मण्डल बताउँछन्।
उनका अनुसार, सामान्य रूपमा नभई पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुकाएर, पिँधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वको विशेषता हो।
छठ पर्व नजिकिएसँगै बजारमा चहलपहल पनि बढेको छ। पूजापाठमा माटोबाट बनेको घैंटो र हात्ती, बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायत सामग्री प्रयोग हुन्छन्।
तर, यस वर्ष छठमा प्रयोग हुने सरसामानको भाउ बढेको छ। व्यापारीले मनलाग्दी भाउ बढाएको स्थानीय बासिन्दा बताउँछन्।
व्यापारी भने आफूले खरीद गर्दा नै महँगो भएको सुनाउँछन्। स्थानीय व्यापारी श्रीनारायण सरवरियाका अनुसार, बाँसका सामान सप्तरी, सर्लाही, महोत्तरीबाट खरीद गरेर जनकपुरमा बेच्नु परिरहेको छ। स्थानीय स्तरमा उत्पादन नहुने र टाढाबाट ल्याउँदा महँगो भएको उनको भनाइ छ।