मिथिलाञ्चलमा यसरी मनाइयो भरदुतीया
मिथिलाञ्चलमा कात्तिक शुक्ल द्वितीयाका दिन पर्ने दिदीबहिनी र दाजुभाइको पर्व भातृद्वितीयार अर्थात् भरदुतीया आज धूमधामसँग मनाइएको छ।
कतिपय ठाउँमा यसलाई भैयादुज समेत भन्ने गरिन्छ। यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौं दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ। यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको श्रीवृद्धि सहितको कामना गरेर पर्व मनाउने परम्परा छ।
यस भातृद्वितीयारभन्दा पहिले गोधन लोकोत्सव मनाइन्छ र यसमा केराउका गेडालाई गोबर मिलाएर कुटिन्छ। पछि ती केराउको गेडालाई भाइलाई खान दिइन्छ। जसलाई बज्री भनिन्छ। यो बज्री खुवाउँदा दाजुभाइको कलेजो ब्रज समान बलियो होस् भन्ने कामना गरिन्छ।
यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको पनि होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन्। यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चपाउन दिइन्छ। ‘बजरी’ ख्वाइने भनिने यो विधिमा साह्रो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर बजरी भनिएको डा.राजेन्द्र विमलको भनाइ छ।
बजरी खुवाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको उनी बताउँछन्। यो विधि सकिएपछि दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राख्छन्। दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गरिन्छ।
मिथिलाञ्चलमा यो पर्वका दिन बहिनीले भाइको निधारमा पिठार (चामललाई पानीसँगै पिंधेर बनाइएको लेदो) र सिन्दूरको टीका लगाएर उज्ज्वल भविष्यको कामना गर्ने गर्छन्। भातृद्वितीयाका दिन बहिनीले भाइ आफूभन्दा ठूलो होस् वा कान्छो पूजा गरी निमन्त्रण दिने गर्छन्।
बहिनीले सिन्दूर, पिठार, लगाएर कुभिण्डोको फूल, पानको पात, सुपारी र जल भाइको हत्केलामा राखी ‘गंगा नौतैत छथि यमुना के, हम नौतैत छी (भाइ के नाम) भाइ के, जहिना जहिना गंगा–यमुनाक धार बहए, हमर भाइ सभक औरदा बढ़ए’ अर्थात् गंगाले यमुनालाई निमन्त्रण दिइन् मैले आफ्नो भाइलाई भन्दै हात पखाल्छिन्।
बहिनीले पूजा गरेपछि भाइले बहिनीलाई यथाशक्ति उपहार दिन्छन् र उनको घरको अन्न खाएर बहिनीलाई सन्तुष्टि प्रदान गर्छन्। अघि सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा. विमल बताउँछन्।
पछिल्ला वर्षमा मिथिलाका मूल बासिन्दा र यहाँ बसोबास गर्न आएका अन्य जाति, धर्म, परम्परा र संस्कृतिका विभिन्न समुदायबीच सांस्कृतिक घुलमिलले चाडबाड साझा बन्दै गएका छन्। पर्वते हिन्दू परम्पराको भाइटीका र मैथिली परम्पराको भैयादुज मनाउन दिदीबहिनी र दाजुभाइ मानेर फरक-फरक परम्पराको युवापुस्ताले एकसाथ पर्व मनाउन थालेको छ।