आज १८३ सङ्क्रमित थपिए, ६४९ निको भए
कोभिड-१९ सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ। आज १८३ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा चार हजार ८४४ जनाको स्वाब परीक्षण गर्दा १८३ जनामा सङ्क्रमण देखिएको हो। बिहीबार ३५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
आज सङ्क्रमण देखिएकामध्ये दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जनामा र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, आज कोरोना सङ्क्रमणबाट दुई जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६४९ जना निको भएका छन्। अहिलेसम्म सात लाख ९४ हजार ४३८ जना निको भइसकेका छन्।
अब सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ४१३ रहेको छ। उनीहरूमध्ये दुई सयको आईसीयूमा र ५५ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।
आज देशभर तीन हजार ७७५ जनाले मात्रै खोप लगाएका छन्। तिहारको बिदाका कारण खोप लगाउनेको सङ्ख्या घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।