धागो उत्पादनबाटै आत्मनिर्भर बन्न सक्छ नेपाल
हामीले अहिले धागो उत्पादन र निर्यात गर्न सक्छौं भन्ने नै बिर्सिसकेका छौं। जबकि, यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई नै मजबूत बनाउन सक्छ।
राष्ट्र ब्यांकका अनुसार, अहिले हाम्रो व्यापार घाटा ११ खर्बभन्दा माथि छ। यो घाटासँग धागो र कपडा उत्पादनमा हाम्रो उदासीनता पनि जोडिएको छ।
हाम्रा लागि गाँस र कपासको स्रोत भनेकै कृषि हो। यहाँ कपास अर्थात् कपडाका विषयमा चर्चा गरिंदै छ। कपडा बुन्न आवश्यक कच्चा वस्तु धागो हो। यही आवश्यकतालाई हेरेर बुटवलमा धागो कारखाना स्थापना गरिएको थियो, तर पछिल्ला सरकारले यसलाई निजीकरण गरेर बन्दै गराइदिए।
विश्वमै धागोका प्रमुख स्रोत भनेका रेसम र कपास खेती तथा भेडापालन हुन्। अन्य स्रोत पनि नभएका होइनन्, तर ती नगण्य छन्। पछिल्लो समय बाँस, अल्लो, केरा, सिस्नो, भाँगो आदिबाट पनि कपडा बन्छन्। नेपालमा सरकारले रेसम खेतीबारे अनुसन्धान तथा काम शुरू गरेको आधा शताब्दी भइसकेको छ। तर, यो अझै ग्रामीण बस्तीसम्म व्यावसायिक रूपमा विस्तार हुन सकेन।
रेसम एक प्रकारको कीरा हो। यसलाई पालन गर्न किम्मुको बिरुवा चाहिन्छ। कम हावा लाग्ने तथा गर्मी र चिसो धेरै नहुने ठाउँ यसका लागि उपयुक्त हुन्छ। यस अर्थमा नेपाल रेसम खेती गर्न मिल्दो ठाउँ हो। त्यसैले हामीले धागो तथा कपडामा आत्मनिर्भर बन्न रेसम खेतीमा ध्यान दिनुपर्छ।
वार्षिक रूपमा चीनले ३९८ करोड, भारतले १५१ करोड, उज्वेकिस्तानले २५ करोड, इरानले १२ करोड, थाइल्यान्डले पाँच करोड, ब्राजिलले तीन करोड, भियतनामले दुई करोड, रोमानियाले १.६ करोड, दक्षिण कोरियाले ०.८ करोड र अफगानिस्तानले ०.७ करोड मेट्रिक टन रेसम उत्पादन गरिरहेका छन्। हामीभन्दा सानो मुलुक दक्षिण कोरियाले नवौं स्थान ओगटेको छ। कोशिश गरे हामी कोरियाभन्दा माथि पुग्न सक्छौं।
अर्को हो, कपास खेती। नेपालमा २०४० सालसम्म पनि गाउँघरमा कपासको कपडा बनाएर लगाइन्थ्यो। कपास खेती गर्ने र चर्खामा त्यसको धागो बनाई कपडा बुन्ने चलन थियो। वास्तवमा यो ग्रामीण आत्मनिर्भरताको उल्लेख्य नमूना थियो। तर, समयक्रमसँगै चीन तथा भारत जस्ता औद्योगिकीकरणतर्फ लम्किरहेका मुलुकले उत्पादन गरेका धागो तथा कपडा सस्तोमा पाइन थाले।
हामी आयातमुखी भयौं। यहाँ खुलेका ब्यांकहरूले पनि आयातमुखी अर्थतन्त्रलाई नै बढाउन भूमिका खेले। कपास खेती र प्रशोधन बन्द भयो। यहीं धागो उत्पादन गर्ने सरकारको नीति हुनुपर्थ्यो, हुन सकेन।
विश्वमा वार्षिक रूपमा भारतले २९ मिलियन, चीनले २४.५ मिलियन, अमेरिकाले २०.५५ मिलियन, पाकिस्तानले ९.१५ मिलियन, ब्राजिलले ७ मिलियन, अस्ट्रेलियाले ४.८ मिलियन, उज्वेकिस्तानले ३.७ मिलियन, टर्कीले ३.६ मिलियन, तुर्कमेनिस्तानले १.४ मिलियन र बुर्किना फासोले १.४ मिलियन बराबरको कपासको धागो उत्पादन गर्ने गरेका छन्। तर, नेपालले यो अवसरलाई नगदमा रूपान्तरण गर्न सकेन। सम्भावना अझै भने छ।
ऊनी धागोको स्रोत भेडापालन हो। नेपाल भेडापालनका लागि उत्कृष्ट ठाउँ हो। भेडापालनबाट ऊनसँगै मासु र दूध प्राप्त हुन्छ। २०२२ सालमा सरकारले जुम्लाको गुठिचौरमा भेडापालन स्रोत केन्द्र नै स्थापना गरेको थियो। तर, त्यति वेला राजाका भेडाहरू भनियो। सरकारी तबरमा खोलिएकाले जनस्तरमा प्रचार एवं विस्तार हुन सकेन।
त्यस्तै, हिमाली क्षेत्रका जनताले राम्रो भेडापालन गरेकाले पूर्वमा ताप्लेजुङ र सुदूरपश्चिमको दार्चुलामा ऊन पेल्ने मेसिन स्थापना गरिएको थियो। कुनै वेला यी मेसिनले दैनिक रूपमा आफ्नो क्षमता अनुसार ऊन पेल्थे। ती मेसिन गुणस्तरीय पनि थिए, जुन छिमेकी मुलुकहरूसँग समेत थिएन।
त्यसैले ती देशबाट पनि भेडाको ऊन पेल्न यहाँ ल्याइन्थ्यो। तर, छिमेकी मुलुक समयसँगै ‘अपडेट’ हुँदै गए। नयाँ मेसिन ल्याए। नेपालका मेसिन भने बिग्रेर कालान्तरमा काम नलाग्ने भए। दार्चुलामा रहेको मेसिन अहिले अलपत्र जस्तै छ।
विश्वमा चीनले ४७१,१११, अस्ट्रेलियाले ३६०,५२०, न्यूजिल्यान्डले १६५,०००, बेलायतले ६८,०००, इरानले ६१,५००, मोरक्कोले ५६,०००, सुडानले ५६,०००, रसियाले ५४,६५१, भारतले ४६,५०० र अर्जेन्टिनाले ४५,००० हजार मेट्रिक टन ऊन उत्पादन गर्छन्। जबकि, भेडापालन हाम्रा लागि पनि ठूलो सम्भावना भएको क्षेत्र हो। नेपालको आधाभन्दा बढी भूभागमा यो व्यवसाय सञ्चालन गर्न सकिन्छ।
धागो र भूगोल
नेपाल विचित्रको हावापानीयुक्त मुलुक हो। धागोका लागि आवश्यक कच्चावस्तु तराई र पहाडमा रेसम तथा कपास खेती गरेर अनि हिमाली र पहाडी क्षेत्रमा भेडापालन गरेर जुटाउन सकिन्छ। तर, हामीले धागो उत्पादन गरेर निर्यात गर्न सक्छौं भन्ने कुरा नै बिर्सिसकेका छौं।
यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबूत बनाउन सक्छ। कच्चा वस्तुको उत्पादन र त्यसको प्रशोधनले ठूलो मात्रामा रोजगारी सिर्जना गर्छ। धागोबाट कपडा बन्छ। धागोले शृङ्खलाबद्ध रूपमा रोजगारी सिर्जना गर्छ।
राज्यले के गर्ने?
२०७८ साल चुनावी वर्ष हो। यसअघि संघीय संविधान अनुसार, २०७४ मा सबै खालका चुनाव भइसके। प्रदेश र स्थानीय संरचना कार्यान्वयनमा आइसकेका छन्। त्यसैले विकास हुन नसक्नुमा केन्द्रीकरणलाई दोष दिनु अब कुतर्क हुनेछ। स्थानीय सरकार निकै बलिया भएका छन्। प्रदेशले नै विकासको मूल फुटाउने अवसर सिर्जना भएको छ।
यस्तोमा स्थानीय सरकारले गर्न सक्ने काम नै धागोको विकास हो। त्यसैले रेसम, कपास खेती र भेडापालनतर्फ कदम चाल्नुपर्छ। त्यसो त नेपालमा विज्ञहरूको पनि कमजोरी देखिन्छ, त्यो भनेको उनीहरूमै इच्छाशक्ति र जाँगर नहुनु हो। स्थानीय र प्रदेश सरकारले यसैलाई शक्तिमा बदल्नुपर्छ।
धागोका लागि पूर्वाधार त अघिकै सरकारले खडा गरिसकेको छ। अब श्रम र लगानी आवश्यक छ। ती पूर्वाधारलाई सामाजिक परिचालनका माध्यमबाट व्यावसायिक रूप दिनुपर्छ। उत्तरी भेगहरूमा भेडापालनका कार्यक्रम अगाडि बढाइनुपर्छ। भेडालाई चरनभन्दा पनि चारो चाहिन्छ।
हिमाली भेगका युवामा पनि वैदेशिक रोजगारी तथा शहरी जीवनतिरै बढी आकर्षण छ। यही कारणले हिमाली क्षेत्रमा भइरहेको भेडापालन ओरालो लागेको हो। त्यसैले स्थानीय सरकारले भेडापालनमा निकै जोड गर्नुपर्ने देखिन्छ। केन्द्र सरकार र प्रदेश सरकारले होस्टेमा हैंसे गरिदिनुपर्छ।
हिमाली क्षेत्रमा भेडा पाल्न प्रोत्साहन गर्दै आकर्षक प्याकेजहरू ल्याइनुपर्छ। युवा आत्मनिर्भर र सम्मानित हुने अवसर खोजिनुपर्छ। पहाड र तराईमा कपास तथा रेसम खेतीको पकेट क्षेत्र निर्माण गरिनुपर्छ। यो व्यवसायमा थोरै सङ्ख्याले पनि धेरै काम गर्न सक्छ।
स्थानीय सरकारले प्राप्त गरेको अधिकारलाई पूर्ण प्रयोगमा ल्याउनु भनेको ऋणपत्र जारी गर्नेदेखि लिएर बैंकहरूलाई आफूले भनेको क्षेत्रमा लगानी अनिवार्य गराउनु पनि हो। उद्योग खोल्न, रोजगारी ग्यारेन्टी गर्नका लागि स्थानीय सरकारले ठूला परियोजना समेत सञ्चालन गर्न सक्छन्। यो भनेको धागो उत्पादनमा काम गर्न सकिन्छ भन्ने हो।
यसो भन्दैमा प्रत्येकले धागो उद्योग खोल्नुपर्छ भन्ने होइन। केही स्थानीय सरकार र पब्लिक मिलेर ठूलो क्षमताको धागो कारखाना खोल्न सक्छन्। आवश्यक कच्चावस्तु उत्पादन गर्न धेरैवटा स्थानीय सरकारले साझेदारी गर्न सक्छन्। कच्चावस्तु उत्पादनमा तालीम, लगानी र भ्रमण महत्त्वपूर्ण कुरा हुन्।
यी कामका लागि नै स्थानीय सरकारहरूको सहकार्य आवश्यक छ। भ्रमणले उत्पादनमा उत्साह तथा विविधीकरण ल्याउन ठूलो मद्दत पुग्छ। हाललाई भारत भ्रमण नै सबैभन्दा उपयुक्त हुन्छ। नेपालमा विगतमा भएको भ्रमण अभ्यास भने निराशाजनक छ जसलाई सुधार्नु आवश्यक छ।
उत्पादन र भावनात्मक सम्बन्धको विकास
उत्पादन अनि आत्मनिर्भरताको कुरा उठ्दा छिमेकी मुलुकहरूलाई बिर्सन हुँदैन। छिमेकीले उत्पादन गर्नेभन्दा नेपाली कृषि वस्तु महँगो छ। खुला प्रतिस्पर्धात्मक अर्थतन्त्र भएकाले सहज रूपमा छिमेकी उत्पादनले नेपाल प्रवेश पाउँछन्। नेपालीले सस्तो कृषि वस्तु छान्छन्।
यसले नेपाली कृषिवस्तुले प्राथमिकता पाउँदैन। फलतः नेपालमा उत्पादन हुँदैन। यो कुरा सत्य हो। तर, यसभन्दा बढी खतरनाक चाहिं हाम्रो बहानाबाजी हो। थोरै उत्पादन गरेर धेरै मूल्य खोज्नु हाम्रो कमजोरी हो।
२०२७, २०४६ र २०७२ सालका नाकाबन्दीमा आत्मनिर्भरताका बहस भए, तर काम भएनन्। आत्मनिर्भरताको एक मात्र सूत्र प्रत्येक नेपालीले धान्न सक्ने बजारमूल्यका वस्तु उत्पादन गर्नु हो। आजको विश्वमा जसले उत्पादन र राष्ट्रिय भावना जोड्न सके, तिनै मुलुक प्रगतिपथमा छन्।
हाम्रो सन्दर्भमा व्यापार घाटा न्यून गराउन धागोको स्थान महत्त्वपूर्ण हुन्छ। यो कुरा युवा, वृद्ध र बालक सबैलाई जानकारी हुनुपर्छ। हामीले यिनै कुरा बुझाउन सके धागोमा आत्मनिर्भर हुँदै कपडा समेत निर्यात गर्ने वातावरण बन्नेछ। यसका लागि नागरिक, कर्मचारी र स्थानीय तथा प्रदेश तहका पदाधिकारीबीचको सम्बन्ध र सहकार्य आवश्यक छ।