टी-२० विश्वकप : भारतको सेमिफाइनल यात्रा जीवितै, कसको सम्भावना कति?
आईसीसी टी-२० विश्वकपमा दुई टीमले सेमिफाइनल यात्रा तय गरिसकेका छन् भने बाँकी दुई स्थानका लागि भारत सहित ६ टोली प्रतिस्पर्धामा छन्।
सुपर-१२ का सात खेल बाँकी रहँदा समूह-१ बाट इङ्ल्यान्ड र समूह-२ बाट पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। दुवै टोलीका एक-एक खेल मात्रै बाँकी छन्। अबका खेल हारे पनि दुवै टीम सेमिफाइनल पुग्नेछन्।
समूह-१ बाट चार खेलमा आठ अङ्क जोड्दै इङ्ल्यान्ड शीर्षस्थानमा छ। इङ्ल्यान्डले अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ। त्यो खेल हारे पनि रनरेटका आधारमा सेमिफाइनल पुग्नेछ।
त्यस्तै, समूह-२ को पाकिस्तानले पनि चार खेलमा आठ अङ्क जोडेको छ। अन्तिम खेलमा स्कटल्यान्डसँग हारे पनि सेमिफाइनल यात्रा पक्का भइसकेको छ।
समूह-१ का श्रीलङ्का, वेस्ट इन्डिज र बाङ्लादेशको सेमिफाइनल यात्रा सकिएको छ। बाङ्लादेशले कुनै पनि खेल जित्न सकेन भने श्रीलंकाको चार अङ्क मात्रै छ। एक खेल बाँकी रहेको वेस्ट इन्डिजको दुई अङ्क मात्रै छ।
यो समूहबाट सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धामा छन्। दुवै टोलीले खेलेका चार खेलमध्ये तीनमा जित र एकमा हार बेहोर्दै ६-६ अङ्क बटुलेका छन्।
अब अन्तिम खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजको र दक्षिण अफ्रिकाले इङ्ल्यान्डको सामना गर्नेछन्। हार्ने टोलीको यात्रा सकिनेछ। दुवै टोलीले जित्दा पनि रनरेटका आधारमा सेमिफाइनल यात्रा तय हुनेछ।
त्यस्तै, समूह-२ बाट भने स्कटल्यान्ड मात्रै बाहिरिएको छ। अहिलेसम्म उसले खेलेका तीनै खेलमा हार ब्यहोरेको छ। अबका दुवै खेल जित्दा पनि उसको चार अङ्क मात्रै हुनेछ।
यो समूहबाट अफगानिस्तान, न्यूजिल्यान्ड, भारत र नामिबियाको सम्भावना जीवितै छ। अफगानिस्तान र न्यूजिल्यान्डको चार-चार अङ्क छ भने भारत र नामिबियाको दुई-दुई अङ्क छ।
अफगानिस्तानले अन्तिम खेलमा न्यूजिल्यान्डलाई राम्रो रनरेटले हराउन सकेमा मात्रै सेमिफाइनल यात्रा तय गर्न सक्नेछ। न्यूजिल्यान्डलाई भने सेमिफाइनल पुग्नका लागि बाँकी दुवै खेल जित्नुपर्नेछ। आज न्यूजिल्यान्डले चौथो खेल नामिबियासँग खेल्दै छ भने अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ।
यो समूहबाट सेमिफाइनल पुग्न सबैभन्दा गाह्रो भारतलाई छ। भारतले आफूले जितेर मात्रै हुँदैन, अरूको खेलमा निर्भर हुनुपर्छ।
सेमिफाइनल पुग्नका लागि भारतले चौथो खेलमा स्कटल्यान्ड र पाँचौं खेलमा नामिबियालाई राम्रो रनरेट निकाल्ने गरी हराउनुपर्नेछ। त्यसपछि पनि स्कटल्यान्ड वा अफगानिस्तानले न्यूजिल्यान्डलाई हराइदिनुपर्नेछ। अनि मात्रै भारतको सेमिफाइनल यात्रा तय हुनेछ।
त्यस्तै, नामिबियाका लागि पनि सेमिफाइनल यात्रा कठिन छ, तर भारतले जसरी अरूको खेलमा निर्भर हुनुपर्दैन। अबका दुवै खेल राम्रो रनरेट निकाल्ने गरी जितेमा सेमिफाइनल यात्रा तय गर्नसक्छ। नामिबियाले चौथो खेलमा आज न्यूजिल्यान्डसँग र अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।
आज पहिलो खेल न्यूजिल्यान्ड र नामिबिया तथा दोस्रो खेल भारत र स्कटल्यान्डबीच हुँदै छ। स्कटल्यान्ड बाहेक तीनै टोली सेमिफाइनलका लागि प्रतिस्पर्धी हुन्।